बागलुङ, तमानखोला
तमानखोला गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको दोस्रो गाउँपालिका कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। गत जेठ २२ गतेदेखि वडा नं. ५ स्थित शान्ति माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित विविध खेलकुद कार्यक्रम तीन दिनसम्म सञ्चालन गरिएको हो।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष बुढाले गाउँपालिका कपले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन गर्न तथा खेलकुद क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगिताअन्तर्गत सञ्चालन गरिएको खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा वडा नं. १ प्रथम तथा वडा नं. ५ द्वितीय हुन सफल भएका छन्।

त्यसैगरी शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता पनि सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा शिक्षक टोली प्रथम स्थान हासिल गर्न सफल भएको आयोजकले जनाएको छ।
विद्यालयस्तरीय खेलकुदअन्तर्गत कक्षा ९ र १० का छात्र–छात्रा भलिबल प्रतियोगितामा तीन विद्यालयको सहभागिता रहेको थियो। साथै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि रिले दौड, कक्षा ४ र ५ का लागि म्युजिकल चियर तथा कक्षा १ देखि ३ सम्मका बालबालिकाका लागि मिठाई तान्ने प्रतियोगिता सञ्चालन गरिएको युवा, खेलकुद तथा शिक्षा विकास शाखाका प्रमुख दुर्गादत्त घिमिरेले जानकारी दिनुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अमित परियार, सामाजिक विकास समिति संयोजक झकबहादुर बुढा, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको उपस्थिति रहेको थियो।
प्रतियोगिताको समापन कार्यक्रम सामाजिक विकास समिति संयोजक झकबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो। गाउँपालिकाले यस्ता खेलकुद कार्यक्रमले युवाहरूमा खेलप्रतिको आकर्षण बढाउनुका साथै सामाजिक एकता र आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।








