बुर्तिबाङ पौष १२ गते
बाग्लुङको ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पतालले प्रथम वार्षिकोत्सव कार्यक्रम नागरिकका बिचमा अस्पताललाई अझै व्यवस्थित र नागरिक मैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा एक कार्यक्रम सहित सुझाव सङ्कलन गरेको छ ।

गतवर्ष गण्डकी प्रदेश सरकार मातहत रहने गरी ५० शैया सेवा सुविधा उपलब्ध गराउने गरी बुर्तिबाङ स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गरी स्थापना गरिएको अस्पतालले १ बर्ष पुरा गरेको हो ।
कार्यक्रममा अवसरमा अस्पतालले आफ्नो पहिलो वर्षमा पुरा गर्दै गर्दा गतवर्ष देखि अहिले सम्म गरेका विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिएको हो । अस्पताल निर्माण संगै सुरुवाती चरणमा विभिन्न चुनौती रहेपनि पछिल्लो समय धेरै समस्याको समाधान भइसकेको र अब यस क्षेत्रका नागरिकले सहज सेवा, औषधी उपचार संगै ५० शैया बराबरको सेवा प्रभावकारी रुपमा सञ्चलन भइरहेको बताइएको हो ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष कमल भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सांसद दिलमाया पौवी को प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि पौवी ले बोल्दै यो अस्पताल बनाउन धेरै समस्याको सामना गर्नु परेको र जसरी पनि बनाउने भन्दै अघि सरेर २०३२ सालको बुर्तिबाङ स्वास्थ्य चौकी बाट स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउन सफल भएको बताउनु भयो । उहाँले थप बोल्दै पश्चिम बागलुङका नागरिक यहाँ बाट राम्रो स्वास्थ्य र शिक्षाको खोजीमा बाहिर बसाइसराइ गर्ने परिपाटी रहेको बताउँदै अब स्वास्थ्य क्षेत्रको सुधारले यहीँबाट सेवा पाउने र बसाइसराइ समेत कम हुने बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य कर्मी, स्थानीय नागरिक अगुवा, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिले अझैपनि सेवा सुविधा गुणस्तरीय बनाउनु पर्ने, एम्बुलेन्स सेवा निःशुल्क गराउनु पर्ने, २४ अै घण्टा सेवा प्रभावकारी बनाउनु पर्ने लगायतका विषयमा आफ्नो धारणा र सुझाब व्यक्त गरेका छन ।
सहभागि बाट उठेका प्रश्न जिज्ञासालाई अस्पतालका प्रमुख अविनाश पोख्रेल, व्यवस्थापन समितिका अध्यक्ष कमल भुसालले सम्बोधन गर्दे अस्पतालबाट दिइने सेवा सुविधा र गुणस्तरमा निकै मिहिनेतका साथ लाग्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रम झम सिर्पालीको सञ्चालनमा सम्पन्न भएको हो ।










