बागलुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ मातहतका ट्राफिक प्रहरीले मासिक कमिसन लिने गरेको पिक अप जिप व्यवसायीहरुले आरोप लगाएका छन् ।
आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ अगाडि जम्मा भएका पिक अप जिप व्यवसयाीहरुले ट्राफिक प्रहरीलाई मासिक शुल्क दिन छोडेपछि चेकपोष्ट पिच्छे नै चिट काटेको आरोप लगाए । पिक अप जिपहरुले मासिक कमिसन दिन छोडेपछि ट्राफिक प्रहरीले अनावश्यक दुख दिएको उनीहरुको भनाइ छ । यस अघि गोप्य रुपमा मासिक असुलीको कुरा गर्दै आएका जिप व्यवसायीले यसपटक खुलेरै ट्राफिक प्रहरीको भण्डाफोर गरेका छन् ।

बागलुङबाट दक्षिण तर्फ छुट्ने पिक अप जिपहरुलाई छुट दिने बाहनामा मासिक एक हजार शुल्क मालढुङ्गा क्षेत्रमा, सिगाना जाने, अछेते हुँदै पाला तंग्राम, धम्जा र भिम पोखरा जानेहरुका लागि अछेते लगायतको स्थानमा ट्राफिक प्रहरीले कमिसन उठाउने गरेको चालकहरुले बताएका छन् ।
पिक अप जिप चालक सुरेस पुनले ट्राफिकलाई जेन्जी आन्दोलन अघि सम्म ट्राफिक कार्यालयमै पुगेर मासिक एक हजारका दरले शुल्क बुझाउदै गरेको बताउनुभयो । उहाँले मासिक शुल्क बुझाउन आनाकानी गरेपछि दिनकै एक हजार ५०० को चिट काट्न थालेपछि आन्दोलनमा उत्रन थालेको बताउनुभयो ।

“बैंकबाट लोन लिएर हामीले गाडी किनेका छौं ट्राफिकलाई कमिसन दिने की किस्ता तिर्ने ? परिवार पाल्नै प¥यो, ट्राफिक प्रहरीले लखेटी लखेटी चिट काट्न थालेपछि आन्दोलनमा उत्रेका हौं” पुनले भन्नुभयो “मासिक शुल्क संगै लोकल रक्सीदेखि कुखुरा, माछा र सुन्तला दिदै हैरान प¥यौ, बिरामी बोकेर लिएको जिपलाई समेत चिट काटेर हैरान बनाए ।”
जैमिनीका पिकअप चालक दिलीप थापाले एकै दिनमा तीन पटक सम्म चिट काटेको बताउदै एउटा बिल बुक र लाइसेन्स कति ठाउँमा देखाउने भन्दै प्रश्न गर्नुभएको छ । विगतमा सवारी चालकहरुसंग महिनावारी रकम असुल्ने गरेको पनि उनीहरुले आरोप लगाएका छन् । जिल्लामा करिब २०० पिक अप जिपहरु रहेका छन् । उनीहरुबाट मासिक एक हजार कमिसन उठाउदा मासिक दुई लाख संकलन हुने गरेको छ । त्यो बाहेक प्रहरीले कुखुरा, लोकल रक्सी, माछा, फलफूल तथा चाडवाडमा छुट्टै रकम असुल्दै आएका छन् । उनीहरुले मिडियामा बोल्दा आफ्नो जिप व्यवसायमा असर पर्ने भन्दै अहिले सम्म बोल्न नसकेको र पछिल्लो समय अति भएपछि बोल्न बाध्य भएको बताउछन् ।
जेनजी आन्दोलनको प्रभावमा ट्राफिक प्रहरीले महिनावारी असुल्न छोडेपछि चेक जाँच गर्ने बहानामा हामीलाई दुःख दिने काम थालेको चालहरु बताउछन् । विगतमा महिनावारी रकम बुझाउँदा ट्राफिकले कुनै दुःख नदिएको उनीहरुको भनाई छ ।
ट्राफिक प्रहरी बागलुङलाई रातो नम्बर प्लेटलाई भाडामा लगाएको, कमिसन खाएर यात्रु बोक्न दिएको, लाईसेन्सको परिक्षा दिने स्थानमै चेकिङ गरेको, मालबाहक ट्रकबाट रकम असुल्दै आएको, चाडवाड खर्च भनेर सबै जिपबाट रकम लिदै आएको आरोप लगाउदै आएका छन् ।
यस विषयमा जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक मिन कुँवरलाई जानकारी लिदा उहाँले पिक अप जिपहरुले लगाएको आरोपमा सत्यता नभएको बताउनुभयो । उहाँले यसअघिका ट्राफिक प्रहरी प्रमुखलाई दोष लगाउदै उम्कन खोज्नुभयो । उहाँले पहिला भएको ट्राफिक प्रहरी र पिक अप जिप व्यवसायीबीचको कमिसनको जालो आफूले भत्काउन सफल भएपछिको परिणाम भएको बताउनुभयो । आफुहरुले ट्राफिक नियम भन्दा बाहिर गएको भेटिएमा मात्र कारबाही गर्ने गरेको बताउनुभयो ।
मेरो कार्यकालयमा ट्राफिक प्रहरीले रकम असुल गरेको पाइएमा कार्यालय प्रमुखको हैसियतले कार्वाही भोग्न तयार छु, विगतका सबै कुराको जिम्मा लिने अवस्था रहदैन । विगतमा के भयो भन्ने आफुलाई थाहा नभएको र आफु ट्राफिक प्रहरीका रुपमा बागलुङको नेतृत्वमा आएपछि कुनै पनि अवाञ्छित क्रियाकलाप नभएको प्रष्ट पार्नुभयो । उहाँले पिक अप जिपहरुले क्षमता भन्दा बढी यात्रु बोकेको, रातो प्लेटले यात्रु बोकेका कारण आफूहरुले कार्वाही गरेको बताउनुभयो ।
तोकिएको संख्या भन्दा बढी यात्रु बोक्ने, प्रहरीलाई आफु अनुकुल बनाएर भित्र भित्रै रकम दिने कार्य व्यवसायीहरुले गर्दै आएको गुनासो सेवाग्राहीहरुले गर्दै आएका छन् । प्रहरीले गलत गर्नेलाई कार्वाही गर्ने भन्दा पनि पैसा लिएर छुट दिने कार्यले गलत प्रवृति मौलाउदै गएको नागरिक अगुवाहरु बताउछन् ।
प्रहरीले कडाई गरेर नियम अनुसार सञ्चालन गर्न दिने हो भने यात्रुहरुलाई सहजता हुने अवस्था आउन सक्छ ? नियमित रकम उपलब्ध गराउने जिपका चालकहरुलाई ४ सिटको जिपमा १० देखि १२ जना बोकेर हिडे पनि वास्तै नगर्ने र रकम नदिनेहरुलाई १ जना मात्रै बढी हुदा पनि दुख दिएका थुप्रै उदाहरणहरु भएको सेवाग्राहीहरुले बताएका छन् ।
कानुन कार्यान्वयन गर्ने प्रहरी नै पैसाका लोभमा गलत कामलाई प्रोत्साहन गर्ने कार्य कदापी ठिक हुन सक्दैन, सम्बन्धित निकायले यस्ता प्रवृतिको अध्ययन गरी नियन्त्रण गर्न जरुरी छ ।










