बागलुङको तमानखोला गाउँपालिकाको आयोजनामा शनिबार वडा नम्बर १ को बोङ्गादोभानमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक बर्ष २०८१÷०८२ को तेश्रो चौमासिक सम्म भएगरेको विकास निर्माण, सेवा प्रवाह, गुणस्तर र शुसासनका सन्दर्भमा स्थानीय नागरिकका बिचमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा सहभागि नागरिकले सडक निर्माण, स्वास्थ्य क्षेत्रको विकास, गुणस्तरीय शिक्षामा जोड्, बोङ्गादोभान बजारमा ढल र सडक व्यवस्थापन, बुर्तिबाङ –बोङ्गादोभान सडक अलपत्र पर्नुका कारण, वडाको भवन निर्माणमा ढिलाई लगायत दर्जनौँ प्रश्न राखेका हुन ।

सहभागीको तर्फदेखि योगेन्द्र कुमार पुन, धर्म बहादुर घर्ति, देव बहादुर विश्वकर्मा, बाबुराम सिर्पाली, गोम बहादुर पुन, वेद बहादुर बुढा, चन्द्र प्रकाश बिक, खिम बहादुर छन्त्याल, लिल बहादुर पून, धुर्व शेरचन, देवानन्द गिरी, भरत छन्त्याल हर्क बहादुर सारासंकर, दुर्गा बहादुर बि.क लगायतले प्रश्न जिज्ञासा र सुझाव सहितको धारणा राख्नु भएको हो । सहभागिले तमान– म्याग्दी सिमा विवादको अवस्था, कृषि उत्पादन र बजारीकरण, स्वरोजगार कार्यक्रमको अवस्था लगाएतका विषयमा चासो गुनासो र प्रश्न राखेका हुन ।
सहभागिताबाट उठेका प्रश्न र जिज्ञासाको सन्दर्भमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उपाध्यक्ष हिरा कुमारी छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अमित परियार, प्राविधिक राजन जि.सी., वडा अध्यक्ष थम बहादुर रोका, वडा नम्बर २ का अध्यक्ष नारायण सुनार, वडा नम्बर ४ का अध्यक्ष छ प्रसाद श्रीपालीले प्रस्ट पार्नुभएको हो । गाउँपालिका अध्यक्ष जोक लाल बुढाले सहभागीको प्रश्नको जवाफ दिँदै स्थानीय सरकारले गर्ने कार्यमा पालिकाको आर्थिक अवस्था बमोजिम शिक्षा, स्वास्थ्य सडक, कृषि, पर्यटन, भौतिक पूर्वाधार लगायतका कार्यमा श्रोतले भ्याएसम्म काम गरिएको बताउनु भयो ।

शिक्षा क्षेत्रमा भौतिक प्रगति भइरहेको र अब सबै पक्षको सहभागितामा शिक्षाको गुणस्तर उकास्न अगाडि बढ्नुपर्ने समय आएकोमा जोड दिनुभयो । बजेट अभावका कारण ठूला योजना पालिकाले अगाडि बढाउन नसक्ने बताउँदै संघ, प्रदेश सरकारबाट भइरहेका विकास निर्माणमा पालिकाले थप ध्यानाकर्षण गराउने, समयमा काम सक्न ताकेता गर्ने गरिएको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत अमित परियारले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८१÷०८२ को प्रतिवेदन अनुसार चालू तर्फ ७७.०३ प्रतिशत र पूजीगत तर्फ ७३.१४ प्रतिशत गरी समग्रमा ७५.८९ प्रतिशत प्रगती भएको बताउनु भयो ।
त्यस्तै गाउँपालिकाले ३२ लाख १३ हजार ९ सय ६४ रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल भएको छ । कार्यक्रम गाउँपालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको स्वागत, जिल्ला समोन्य समिती सदस्य टेक बहादुर अर्गेजा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनैतिक दलका प्रतिनिधी, शिक्षक, टोल विकास समिती पदाधिकारी, उपभोक्ता समिती पदाधिकारी , स्थानीय सेवाग्राही नागरिकको सहभागिता रहेको हो ।
कार्यक्रम सामुदायिक रेडियो ढोरपाटनका स्टेशन प्रमुख छविलाल पाण्डेको सहजिकरणमा सम्पन्न भएको हो ।










