काठमाण्डौ उपत्यकासहित बागमती प्रदेशका विभिन्न ठाउँमा अहिले सामान्य पानी परिरहेको छ ।
पछिल्लो एक घण्टामा काठमाण्डौको साँखुमा सबैभन्दा धेरै २८ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । भक्तपुरको नगरकोटमा १० मिलिमिटर, मकवानपुरको रजैयामा २२ मिलिमिटर र चिसापानीगढीमा ६ दशमलव २ तथा काभ्रेको धुलिखेलमा ४ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।

यस्तै काठमाण्डौको दक्षिणकाली, कीर्तिपुर, काभ्रेको खोपासी, मकवानपुरको हेटौँडालगायतका ठाउँमा पनि सामान्य वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ ।
अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भागमा र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेकाले यस क्षेत्रमा राति पनि पानी पर्ने अनुमान रहेको महाशाखाले जनाएको छ । देशको पश्चिमी भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

आज भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर पूर्व, पाल्पा र रुपन्देहीमा रहेका नदी तथा खोलाको जल सतह घटबढ हुनसक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।










