इमेज सहकारी ठगीमा देवकुमार नेपालीलाई ८ वर्ष कैद, सवा करोड जरिबाना

पोखरा ।  इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला अदालत कास्कीले संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रप्रकाश इजलासले कात्तिक १७ गते देवकुमार नेपालीसहित सात जनालाई कैद सजाय, जरिबाना तथा बिगो असुल गर्ने फैसला गरेको हो । यद्यपि, फैसलाको पूर्णपाठ भने सार्वजनिक भइसकेको छैन ।

अदालतका अधिकृत तारानाथ पोखरेलका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दामा सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई ७ वर्ष कैद तथा जनही १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना तोकिएको छ । त्यस्तै, निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही ६ वर्ष कैद सजाय सुनाइएको छ ।

उक्त मुद्दामा सात जनाविरुद्ध १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो मागदाबी गरिएको थियो । सुरुमा ५२४ जना बचतकर्ताको जाहेरीका आधारमा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो माग गर्दै २०८० भदौ १२ गते मुद्दा दायर भएको थियो । पछि पाँच चरणमा ४०० जना बचतकर्तासँग मिलापत्र भएपछि बाँकी ११० जनाको जाहेरीका आधारमा मुद्दा अघि बढाइएको थियो ।

इमेज सहकारी ठगी प्रकरणमा अझै आठ जना फरार रहेको अदालतले जनाएको छ । उनीहरूको हकमा फैसलाको पूर्णपाठ आएपछि थप स्पष्ट हुने बताइएको छ ।

देवकुमार नेपाली लामो समय फरार रहेपछि २०८१ असोज ११ गते भारतको नयाँदिल्लीबाट पक्राउ परेका थिए । नेपाल ल्याइएपछि उनलाई बागलुङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पोखरा र बागलुङ दुवै ठाउँमा इमेज सहकारी सञ्चालन गरेका नेपालीविरुद्ध दुवै जिल्लामा छुट्टाछुट्टै सहकारी ठगी मुद्दा चलिरहेको छ ।

बागलुङमा एक अर्ब पाँच करोडको मिलापत्र

इमेज सहकारीको बागलुङस्थित मुख्य कार्यालय तथा बुर्तिबाङ र गलकोट सेवा केन्द्रमार्फत संकलन गरिएको बचत रकम हिनामिना प्रकरणमा पनि देवकुमार नेपालीसहित ११ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

१ हजार ५४३ जना बचतकर्ताको जाहेरीका आधारमा १ अर्ब ३० करोड ७६ लाख ९८ हजार रुपैयाँ बिगो मागदाबी गरिएको उक्त मुद्दामा हालसम्म करिब १ अर्ब ५ करोड ३० लाख रुपैयाँ बराबरको मिलापत्र भएको सरकारी वकिलको कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला न्यायाधिवक्ता भीमप्रसाद भूर्तेलका अनुसार पछिल्लो समय मात्रै थप ७ करोड ३४ लाख रुपैयाँ बराबरको मिलापत्र भएको छ । अब करिब २५ करोड ३० लाख रुपैयाँ बराबरको रकम मिलापत्र हुन बाँकी रहेको छ । बागलुङमा भने सहकारी ठगी मुद्दाको फैसला हुन बाँकी छ ।

बचतकर्ताको रकम कहिले फिर्ता हुन्छ ?

सहकारी सञ्चालकलाई अदालतले कैद र जरिबाना सुनाए पनि आफूहरूले जम्मा गरेको रकम कहिले र कसरी फिर्ता पाउने भन्ने विषय बचतकर्ताका लागि अझै मुख्य चासो बनेको छ ।

बचतकर्ता हरि कार्कीले अदालतले तोकेको बिगो तथा जरिबाना असुली र सहकारीको सम्पत्ति व्यवस्थापनबाट पीडितले वास्तविक रूपमा कति रकम प्राप्त गर्छन् भन्ने विषय महत्वपूर्ण रहेको बताएका छन् ।

सहकारीको सम्पत्ति, ऋणीबाट असुल गर्नुपर्ने रकम र बचतकर्तालाई रकम फिर्ता गर्ने प्रक्रियाबारे फैसलाको पूर्णपाठ आएपछि मात्रै विस्तृत जानकारी हुने अपेक्षा गरिएको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img