कोजाग्रत पूर्णिमा मेला, ढोरपाटन नगरपालिका कप तथा बुर्तिबाङ राइजिङ युवा क्लबको २४औँ वार्षिकोत्सव विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न भएको छ।
बुर्तिबाङ राइजिङ युवा क्लबको आयोजना तथा ढोरपाटन नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा पुरुष तथा महिला भलिबल, ३५ वर्षमाथिको भलिबल, छेलो, तारा तथा बाङ खेल, वक्तृत्वकला लगायतका प्रतियोगिता सञ्चालन गरिएका थिए।
प्रतियोगिताअन्तर्गत पुरुष वडास्तरीय भलिबलतर्फ बोंखानी भलिबल युवा क्लबले दलमारा–५ साउथोकलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ। प्रथम भएको बोंखानीले ३ लाख १ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
त्यस्तै, दलमारा–५ साउथोक द्वितीय हुँदै २ लाख १ हजार १११ रुपैयाँ र निसीखोला–२ तृतीय हुँदै १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
महिला भलिबलतर्फ ढोरपाटन नगरपालिका प्रथम हुँदै ५१ हजार १११ रुपैयाँ र तमानखोला गाउँपालिका द्वितीय हुँदै ३५ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
त्यसैगरी, ३५ वर्षमाथिको पुरुष भलिबलतर्फ निसीखोला–१ लाई पराजित गर्दै गलकोट नगरपालिका–७ मल्मले प्रथम स्थान हासिल गरेको छ। प्रथम भएको मल्मले ५१ हजार १११ रुपैयाँ र द्वितीय भएको निसीखोला–१ ले ३५ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
छेलो प्रतियोगितातर्फ महिला विधामा ६ जना प्रतिस्पर्धी सहभागी भएकोमा तारा भण्डारी प्रथम, जुनमाया बीके द्वितीय र सन्सिला पर्टेल तृतीय हुनुभएको छ।
पुरुष छेलोतर्फ १९ जना प्रतिस्पर्धी सहभागी भएकोमा पर्वतका किरण सुनारले २४ मिटर १५ सेन्टिमिटर दूरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्नुभएको छ। त्यस्तै, ढोरपाटन नगरपालिका–३ घोसाका सम्पूर्ण हर्मेलले २४ मिटर २ सेन्टिमिटर दूरीसहित द्वितीय र ढोरपाटन नगरपालिकाका रेशम बीकेले २३ मिटर ९० सेन्टिमिटर दूरीसहित तृतीय स्थान हासिल गर्नुभएको छ। पुरुष छेलोतर्फ प्रथमले २१ हजार रुपैयाँ र द्वितीयले १५ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
यसैगरी, वक्तृत्वकला प्रतियोगितामा ‘जलवायु परिवर्तन र त्यसको असर’ विषयमा विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा रिभरहेड इङ्लिस बोर्डिङ स्कुलकी प्रसिद्धि कँडेल प्रथम, खरुवा माध्यमिक विद्यालयकी शिक्षा थापा द्वितीय, न्यू मोडर्न एकेडेमीकी दिया घर्ती तृतीय र प्रकाश माध्यमिक विद्यालयकी उषा अर्गेजा चौथो हुनुभएको थियो।
मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य तथा मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन गरिएको थियो। राष्ट्रिय कलाकार दीप्लव खातीको सांगीतिक प्रस्तुतिसँगै स्थानीय कलाकार तथा सहभागीहरूको प्रस्तुतिले मेलाको रौनक थपेको थियो। कार्यक्रमको उद्घोषण तथा सञ्चालन सरोज बरदेवाले गर्नुभएको थियो।
मेलाको अन्तिम दिन चर्चित लोकदोहोरी गायक प्रकाश दुतराजको विशेष सांगीतिक प्रस्तुति रहेको छ । उहाँको प्रस्तुतिमा मेलामा सहभागी दर्शक तथा सर्वसाधारणले मनोरञ्जन लिएका छन ।
खेलकुद, कला, संस्कृति र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना गरिएको कोजाग्रत पूर्णिमा मेला तथा ढोरपाटन नगरपालिका कप–२०८३ बुर्तिबाङ राइजिङ युवा क्लबको २४औँ वार्षिकोत्सवसमेतका अवसरमा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।