निसीखोलामा ६५ भन्दा बढी शिक्षक सहभागी अन्तर्राष्ट्रिय तालिम सम्पन्न

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा सञ्चालित तीनदिने अन्तर्राष्ट्रिय शिक्षक व्यावसायिक विकास तालिम सम्पन्न भएको छ। गाउँपालिकाभित्रका विद्यालयमा शिक्षण सिकाइको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम सोमबार सम्पन्न भएको हो।

दुईवर्षे अन्तर्राष्ट्रिय शिक्षक व्यावसायिक विकास कार्यक्रमको पहिलो चरणअन्तर्गत आयोजित तालिममा निसीखोलाका ४८ वटै विद्यालयका आधारभूत तहका शिक्षकको प्रतिनिधित्वसहित ६५ भन्दा बढी शिक्षक सहभागी भएका थिए। गुल्मी जिल्लाका दुई जना अतिथि शिक्षकले समेत तालिममा सहभागिता जनाएका थिए।

कर्माफ्लाइट्स फाउन्डेसन नेपाल र थियोले फाउन्डेसनको संयुक्त आयोजनामा, नेदरल्यान्ड्सस्थित केपीजेड युनिभर्सिटी अफ एप्लाइड साइन्सेजको सहयोग तथा निसीखोला गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो।

तालिममा शिक्षकहरूलाई बालकेन्द्रित शिक्षण विधि, बाल विकास, विद्यार्थीको सिकाइ प्रेरणा, सहभागितामूलक शिक्षण अभ्यास तथा कक्षाकोठालाई सिर्जनात्मक र बालमैत्री बनाउने उपायबारे प्रशिक्षण दिइएको थियो। समूहगत छलफल, व्यावहारिक अभ्यास, अनुभव आदानप्रदान तथा बाह्य वातावरणमा आधारित सिकाइ गतिविधिसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्ती मगरले शिक्षकहरूले बिदाको समय सदुपयोग गर्दै व्यावसायिक विकासका लागि देखाएको उत्साहको प्रशंसा गर्नुभयो। उहाँले अन्तर्राष्ट्रिय शैक्षिक अनुभवलाई स्थानीय शिक्षकसम्म पुर्‍याउन सहयोग गर्ने आयोजक संस्था तथा नेदरल्यान्ड्सका साझेदारप्रति आभार व्यक्त गर्दै तालिममा सिकेका ज्ञान र सीपलाई कक्षाकोठामा प्रयोग गर्न आग्रह गर्नुभयो।

उहाँले प्रविधिको प्रयोग, डिजिटल सीप र कृत्रिम बुद्धिमत्ता (एआई) को जिम्मेवार उपयोगमा जोड दिँदै आधुनिक प्रविधिसँगै भाषा, शब्द, अक्षर र आलोचनात्मक सोचको महत्त्वलाई पनि कायम राख्नुपर्ने बताउनुभयो।

तालिमका सहजकर्ता क्रिस्टिना र बर्ट थोलेले शिक्षकहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नभई व्यावहारिक अभ्यास, समूह छलफल र नयाँ शिक्षण विधिको प्रयोगमार्फत सिकाइलाई प्रभावकारी बनाउन प्रेरित गर्नुभएको थियो। उहाँहरूले यो कार्यक्रम तीन दिनमा मात्र सीमित नभई आगामी दुई वर्षसम्म निरन्तर सिक्ने, सिकेका विषयमा चिन्तन गर्ने र शिक्षण अभ्यासमा सुधार ल्याउने यात्राका रूपमा लिन आग्रह गर्नुभएको थियो।

तालिमको दोस्रो दिन बालबालिकाको सिकाइ प्रेरणा, बाल विकास र शिक्षकको भूमिकासम्बन्धी विषयमा विशेष छलफल गरिएको थियो। बालबालिकाले आफूलाई सक्षम, सुरक्षित र महत्त्वपूर्ण महसुस गर्ने वातावरण निर्माण गर्न सके सिकाइमा सक्रिय सहभागिता बढाउन सकिने विषयमा शिक्षकहरूले अनुभव आदानप्रदान गरेका थिए।

त्यस्तै, तालिमको अन्तिम दिन सहभागी शिक्षकहरूले सिकाइका अनुभवको समीक्षा गर्दै आगामी दिनमा कक्षाकोठामा नयाँ शिक्षण विधि प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

समापन कार्यक्रममा निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले शिक्षकको क्षमता विकास र शैक्षिक गुणस्तर सुधारका लागि सहकार्य गरेकोमा कर्माफ्लाइट्स फाउन्डेसन नेपाल र केपीजेड युनिभर्सिटीप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले निसीखोलामा शिक्षा, स्वास्थ्य, विपद् प्रतिकार्य तथा सामुदायिक विकासका क्षेत्रमा कर्माफ्लाइट्सले गाउँपालिकासँग गर्दै आएको सहकार्यको प्रशंसा गर्नुभयो। अर्नाकोटमा सुरक्षित खानेपानीका लागि सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजना, विद्यालयमा स्थापना गरिएका सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोगशाला र ग्रामीण क्षेत्रमा सामुदायिक स्वास्थ्य इकाइ निर्माणजस्ता पहलले स्थानीय समुदायलाई लाभ पुगेको उहाँको भनाइ थियो।

तालिमकी सहसहजकर्ता क्रिस्टिनाले शिक्षकहरूको सक्रिय सहभागिता, सिक्ने तत्परता र अनुभव आदानप्रदान गर्ने उत्साहको प्रशंसा गर्नुभयो। उहाँले आगामी सन् २०२७ को अप्रिलमा दोस्रो चरणको तालिमका लागि पुनः भेट्ने अपेक्षासमेत व्यक्त गर्नुभयो।

कर्माफ्लाइट्स फाउन्डेसन नेपालका निर्देशक प्रेम कुँवरका अनुसार यो कार्यक्रम शिक्षकहरूको निरन्तर सिकाइ, अनुभव आदानप्रदान र कक्षाकोठामा व्यावहारिक सुधार ल्याउने उद्देश्यसहित सञ्चालन गरिएको हो। उहाँले शिक्षकको क्षमता विकासमार्फत बालबालिकाको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गर्नुभयो।

आयोजकका अनुसार यस्ता शिक्षक क्षमता विकाससम्बन्धी कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएका छन्। यसपटकको तालिमलाई आगामी दुई वर्षसम्म निरन्तर सिकाइ र शिक्षण अभ्यासमा सुधार ल्याउने कार्यक्रमको पहिलो चरणका रूपमा लिइएको छ।

तालिमको मुख्य उद्देश्य शिक्षकलाई नयाँ ज्ञान र सीप प्रदान गर्नुका साथै बालबालिकाको आवश्यकता, रुचि र क्षमताअनुसार शिक्षण सिकाइलाई प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img