मलकेटिवाङदेखि कुमाल गाउँ जोड्ने झोलुङ्गे पुल बन्दा विद्यार्थी र स्थानीयलाई सहज

बुर्तिबाङ, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ मलकेटिवाङदेखि कुमाल गाउँ जोड्ने १८३ मिटर लामो झोलुङ्गे पुल बन्दा विद्यार्थी र स्थानीयलाई सहज बनेको छ ।

पुल निर्माण भएपछि स्थानीय जाल्दी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवतजावत गर्न, स्थानीय नागरिकलाई बडिगाड नदी वारपार गर्न तथा कृषि उपजलाई बजारसम्म पुर्‍याउन सहज हुने स्थानीयले बताएका छन्।

सोमबार गण्डकी प्रदेशसभा सदस्यद्वय दोर्णकुमार कुँवर र दिलमाया पौवीले नवनिर्मित पुलको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।

गत जेठ १२ गतेदेखि निर्माण सुरु भएको पुल ७५ लाख २५ हजार ७२६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। पूर्वाधार विकास कार्यालय बागलुङमार्फत निर्माण गरिएको उक्त पुलको जिम्मा आस्था निर्माण सेवाले पाएको थियो। निर्माण कम्पनीले निर्धारित समयअगावै पुल निर्माण सम्पन्न गरेको हो।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले स्थानीय नागरिकको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै प्रदेश सरकारमार्फत पुल निर्माण गरिएको बताउनुभयो। जनताको समस्या र आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाइरहेको उल्लेख गर्दै उहाँले विद्यालय, पुल र खानेपानीजस्ता पूर्वाधार निर्माण गरिएको र बाँकी विकासका काममा पनि जनतासँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, प्रदेशसभा सदस्य दिलमाया पौवीले जनताको माग र आवश्यकताका आधारमा पुल निर्माण सम्पन्न भएको बताउनुभयो। पुल निर्माणले स्थानीय नागरिकको दैनिक आवतजावत सहज बनाउनुका साथै यस क्षेत्रको विकासमा थप योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख अनुप थापाले कार्यालयले सडक, पुललगायतका पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो। यस्ता विकास निर्माणका कामले नागरिकका समस्या समाधान गर्न सहयोग पुग्ने उल्लेख गर्दै उहाँले विद्यालय नदीको तटीय क्षेत्रमा रहेकाले आवश्यक तटबन्ध निर्माणका लागि समेत कार्यक्रम अघि बढाउने बताउनुभयो।

ढोरपाटन नगरपालिका–२ का वडा सदस्य चुडामणि जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शान्ता थापाले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २, प्रदेशसभा क्षेत्र नम्बर २ का सभापति ढालेन्द्र छन्त्याल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सोम पौवी लगायतको आतिथ्यता रहेको थियो।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img