बागलुङ — बागलुङको निसीखोला गाउँपालिका–४ चिनारेमा ठूलो पहिरो खसेपछि बस्तीका १० घर उच्च जोखिममा परेका छन्। आइतबार बिहान गाउँभन्दा तलको भागमा पहिरो खसेसँगै स्थानीयवासी त्रसित बनेका छन्।
पहिरोका कारण भूमिराज कँडेल, भानिश्वर कँडेल, शशिधर कँडेल, लाली कँडेल, तुलसीराम कँडेल, लीलाबहादुर कँडेल, रमिलाल कँडेल, पूर्णलाल कँडेल, ज्ञानबहादुर कँडेल र पुनलाल भुसालको घर जोखिममा परेका हुन्।
पहिरोले घरको आँगनसम्म जमिन चर्किनुका साथै आसपासको भू–भागसमेत छियाछिया बनेको स्थानीय भूमिराज कँडेलले बताए। “घर वरपरको जमिन चर्किएपछि घरमा बस्नसमेत डर लाग्ने अवस्था छ,” उनले भने।
गाउँभन्दा तल खसेको पहिरोका कारण घर तथा खेतीयोग्य जमिनमा समेत क्षति पुग्न थालेको र निरन्तर वर्षा भएमा सिंगो बस्ती नै प्रभावित हुनसक्ने गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तिले बताए।

उनका अनुसार गाउँभन्दा तल सडक निर्माण गर्दा पानीको उचित निकास र आवश्यक संरक्षणका उपाय नअपनाइएकाले वर्षात्को पानीले जमिन कमजोर बनाएको हुनसक्ने देखिएको छ। “सडक निर्माणका क्रममा पानीको निकास व्यवस्थित नहुँदा वर्षात्को पानी जमिनमा पस्ने र त्यसले पहिरोको जोखिम बढाउने अवस्था देखिएको छ,” उपाध्यक्ष घर्तिले भने।
पहिरोपछि गाउँपालिका उपाध्यक्ष घर्तिसहित झिँवाखोला प्रहरी टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ। जोखिममा रहेका घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा बस्न गाउँपालिकाले आग्रह गरेको छ।
पहिरो ठूलो भएकाले तत्कालै रोकथाम तथा नियन्त्रणको काम गर्न कठिन रहेको गाउँपालिकाले जनाएको छ। निरन्तर वर्षा भइरहेमा थप क्षति हुनसक्ने भन्दै स्थानीयलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
पहिरो प्रभावित परिवारलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा तत्काल राहत र अन्य आवश्यक व्यवस्थापनका लागि गाउँपालिकाले तयारी अघि बढाएको उपाध्यक्ष घर्तिले जानकारी दिए।

















