भोटेकोशी बाढीपीडितका लागि कर्मफ्लाइट्सको राहत अभियान

नुवाकोटका विस्थापित परिवारलाई करिब १४ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण

बुर्तिबाङ

 भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई सहयोग गर्न कर्मफ्लाइट्स फाउन्डेसन नेपालले नुवाकोटका विभिन्न क्षेत्रमा राहत सामग्री वितरण गरेको छ।

फाउन्डेसनका निर्देशक प्रेमबहादुर कुँवरको नेतृत्वमा पोखराबाट तीनवटा साना ट्रकमार्फत करिब १४ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री नुवाकोट पुर्‍याइएको हो। ढुंगे आसपास, त्रिशूली नदी करिडोर तथा विभिन्न अस्थायी होल्डिङ सेन्टर र आश्रयस्थलमा रहेका बाढी प्रभावित परिवारलाई राहत वितरण गरिएको फाउन्डेसनले जनाएको छ।

पहिलो दुई दिनमा मात्रै बिदुर नगरपालिका क्षेत्रका विभिन्न अस्थायी आश्रयस्थलमा रहेका २५० भन्दा बढी व्यक्तिलाई खाद्यान्न, त्रिपाल, कम्बल, कपडा, बालबालिकाका सामग्री तथा सरसफाइका सामग्री वितरण गरिएको छ।

राहत सामग्रीमा चामल, दाल, चना, चिउरा, सातु, खानेतेल, चाउचाउ, बालबालिकाका लागि लिटो, त्रिपाल, कम्बल, कपडा, चप्पल, डायपर, टूथब्रस, टूथपेस्ट, स्यानिटरी प्याड, टर्चलाइट, मोबाइल चार्जिङ सामग्री, मल्टिप्लग तथा खाना पकाउने भाँडाकुँडालगायतका सामग्री रहेका छन्।

देविघाटदेखि विभिन्न आश्रयस्थलसम्म राहत

बिदुर नगरपालिका–५ देविघाटस्थित श्री चन्द्रज्योति माध्यमिक विद्यालयको अस्थायी होल्डिङ सेन्टरमा ६० वटा त्रिपालसहित खाद्यान्न, कपडा, बालबालिका तथा सरसफाइ सामग्री वितरण गरिएको छ।

त्यसैगरी बिदुर–१ सिमटारस्थित आमा–बुवा आश्रमको अस्थायी होल्डिङ सेन्टरमा रहेका २७ विस्थापित परिवारका १५० भन्दा बढी सदस्यलाई परिवारको आवश्यकताअनुसार खाद्यान्न, त्रिपाल, कम्बल, कपडा तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ।

घर पूर्ण रूपमा गुमाएका पाँच परिवारलाई थाल, कप तथा खाना पकाउने भाँडाकुँडासमेत उपलब्ध गराइएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले बिदुर नगरपालिका–४ स्थित ज्येष्ठ नागरिक आश्रयस्थल तथा नुवाकोट कभर्ड हलस्थित अस्थायी होल्डिङ सेन्टरमा पनि राहत सामग्री हस्तान्तरण गरेको छ।

बाढीका कारण विद्युत् आपूर्तिमा समस्या भएपछि बिदुरस्थित केन्द्रीय कारागारलाई एक थान जेनेरेटरसमेत उपलब्ध गराइएको जिल्ला समन्वय समिति सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख सहयोग

कर्मफ्लाइट्स फाउन्डेसनले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।

राहत अभियानमा मेटल फर नेपाल यूकेको प्रमुख सहयोग रहेको फाउन्डेसनले जनाएको छ। संस्थागत तथा स्थलगत समन्वयमा फ्लावर केसी र शिल्पा मास्केले भूमिका निर्वाह गरेका थिए। पोखरा–१७ स्थित मामु छोरीलगायत विदेशमा रहेका साथीभाइ, शुभेच्छुक तथा सहयोगदाताबाट पनि सहयोग प्राप्त भएको जनाइएको छ।

राहत वितरण स्थानीय तह, जिल्ला समन्वय समिति, गैरसरकारी संस्था तथा स्थानीय स्वयंसेवकसँगको समन्वयमा गरिएको हो। जिल्ला समन्वय समिति सदस्य राजेन्द्र श्रेष्ठ, गैरसरकारी संस्था महासंघ नुवाकोटका प्रतिनिधि विनोद लामिछाने तथा सन्दीपले स्थानीय समन्वय र राहत वितरणमा सहजीकरण गरेका थिए।

फाउन्डेसनका निर्देशक प्रेमबहादुर कुँवरले विपद्को समयमा प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउनु अभियानको मुख्य प्राथमिकता रहेको बताए।

उनका अनुसार राहत अभियानलाई तत्कालीन सहयोगमा मात्र सीमित नराखी आवश्यकता मूल्याङ्कनका आधारमा प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणमा समेत सहयोग गर्ने योजना रहेको छ।

कर्मफ्लाइट्स फाउन्डेसनले भोटेकोशी बाढी प्रभावितका लागि जारी राहत अभियानमा थप सहयोग आवश्यक रहेको भन्दै देश तथा विदेशमा रहेका व्यक्ति, संस्था तथा सहयोगदातालाई अभियानमा जोडिन अपिल गरेको छ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img