अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ। हिजो प्रतिनिधिसभाले पारित गरेको केही नेपाल ऐन संशोधन विधेयकमार्फत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको पाँच वर्षे लाइसेन्सको प्रावधानलाई परिवर्तन गर्दै १० वर्ष बनाइएको हो।
यसअघि सवारी लाइसेन्स ५ वर्षका लागि दिइन्थ्यो। अब भने पहिलो पटक लिइएको लाइसेन्स होस् वा नवीकरण गरिँदा दुबै अवस्थामा १० वर्षका लागि मान्य हुनेछ। यो विधेयक पारित भइसकेपछि अब राष्ट्रिय सभामा जान्छ।
त्यसपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुग्नेछ। प्रमाणीकरण भएपछि यो नियम कानुनका रूपमा लागू हुनेछ।










