तापक्रम बढ्दो क्रममा : चिसो घट्न थाल्यो

माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपाली पहिलो हप्तादेखि नै तापक्रम बढ्न थालेको छ । केही दिनयता देशका धेरैजसो ठाउँमा न्यूनतम र अधिकतम तापक्रम दुवै बढ्दो छ ।

माघ पहिलो हप्ता बितिसक्दा पनि छिटपुटबाहेक हिउँदे वर्षा र हिमपात भएको छैन । हिउँदमा भित्रिएका सबैजसो प्रणाली गण्डकी प्रदेश र त्योभन्दा पश्चिममा मात्रै सीमित भएको मौसमविद्ले बताएका छन् ।

पश्चिममा पनि पर्याप्त पानी परेको छैन । हिउँ परेर सेतै हुनुपर्ने हिलाल माघमा पनि कालै छन् । सामान्यतया माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपटक माघको पहिलो हप्तादेखि नै चिसो घट्न थालेको छ ।

काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा केही दिनदेखि तापक्रम बढ्दो रहेको छ । लामो समयसम्म पानी नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेकाले नेपालमा तापक्रम बढेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो ।

न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिम क्षेत्रमा कतै–कतै हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ । मौसम बदली भएकाले आज धेरैजसो ठाउँमा तापक्रम घट्न सक्ने अनुमान छ । तर यो लामो समयसम्म नरहने मौसमविद्को अनुमान छ ।

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित