ढोरपाटन साउन १८
बागलुङको ढोरपाटनका दुई युवा सामूहिक स्याउ खेती तर्फ आर्कषित बन्दै गएका छन । परापूर्व कालदेखि ढोरपाटन उपत्यका तथा आसपासको क्षेत्रमा रैथाने स्याउ खेती हुने भएपनि व्यवसायिक रुपमा स्याउ खेतीतर्फ आर्कषित भएका स्थानीय चिरण घर्ति मगर र होमलाल भुसालले ६० रोपनी क्षेत्रफल जग्गालाई चक्लाबन्दी गर्दे स्याउ खेतीतर्फ आर्कषित भएका हुन ।
२०६८ सालदेखि कृषि पेशामा सामूहिक लक्ष्य लिएर होमिएका दुई युवाले विगत १० वर्षसम्म व्यवसायिक आलु उत्पादन, आलुको बजारीकरण र ढोरपाटन क्षेत्रमा आलु खेतीको व्यवसायिक सम्भावनाका विषयमा सचेतना जगाउँदै आएका थिए । पछिल्लो समय आलु खेती सँगै स्याउ खेतीमा होमिएका उनीहरूले ढोरपाटन नगरपालिका ९ को भुजी क्षेत्रमा पहिलो चरणमा १६ रोपनी क्षेत्रफलमा १ हजार ३ सय स्याउका बिरुवा रोपेर अगाडि बढेका हुन ।
युवा जनशक्तिको बढ्दो वैदेशिक पलायन, र कृषि व्यवसाय तर्फ युवाको आर्कषण कम हुँदै जाँदा आफूहरूले विगत १२ वर्षदेखि निरन्तर रुपमा कृषि पेशालाई पहिलो प्राथमिकता दिएर अगाडि बढिएको र आफूहरू अब सफलता तर्फ अगाडि बढेको कृषक चिरण घर्तिले बताउनु भयो ।
राज्यले समेत कृषि र पर्यटनलाई प्राथमिकता दिइरहेको अवस्था छ । राज्यले लिएको अवधारणालाई टेकेर आफूहरूले व्यवसायिक र सामूहिक कृषिबाट अगाडि बढिएको बताउँदै २०८० सालमा रोपिएका स्याउका बिरुवाले यस बर्षदेखि उत्पादन दिन थालेसँगै उनीहरू मख्ख देखिन्छन ।
इटालीबाट ल्याइएको फुजी, गाला, गोल्डेन र रेडवाइन प्रजातिका स्याउका बिरुवा लगाएका उनीहरूले २५ लाख बढि लगानी स्याउ खेतीमा गरिसकेका छन । गण्डकी प्रदेश कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदान र कृषि ज्ञान केन्द्रबाट स्याउलाई अट्याउने टेका तारबार समेत पचास प्रतिशत अनुदानमा प्राप्त गरेका उनीहरूले यो व्यवसायलाई विस्तार गर्दे ६० रोपनी क्षेत्रफल जग्गालाई चक्लाबन्दी गर्दे स्याउको विस्तार गर्ने लक्ष्य लिएका हुन ।
आफूहरू दुई सहित अन्य ४ जना युवालाई समेत सामेल गरेर अगाडि बढ्दै गरेका उनीहरूको उद्देश्य आफ्नै देशमा पौरख गर्ने र युवा रोजगारीको सृजना गर्ने रहेको होमलाल भुसालको भनाई छ । उत्तरगङ्गा अर्गानिक एग्रो फार्म स्थापना गरेर कृषि गर्दे आएका उनिहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, ढोरपाटन नगरपालिकाबाट समेत सहयोग हुँदै आएको छ । गत बर्ष रोपिएका स्याउका बिरुवाले एकवर्षदेखि उत्पादन दिन थालेपछी अब आफूहरूको मिहिनेतको मुल्याँकन हुने कृषक चिरण घर्तिको भनाई छ । उनीहरूले सयौँ रोपनी क्षेत्रफलमा सामूहिक आलु खेती समेत गरेका हुन ।
ढोरपाटन उपत्यकामा आलु पर्याप्त हुने भएका कारण उनीहरूले स्थानीय जातको विउलाई नै मध्यनजर राख्दै सयौँ रोपनी क्षेत्रफलमा आलु उत्पादन गरेका हुन । बाँझो रहेको खाली जग्गालाई भाडामा लिएर आलु उत्पादनमा लागेका उनीहरूले व्यवसायिक र व्यवस्थित रुपले उत्पादन सुरु गरेका हुन । आलुको पर्याप्त बजार माग रहेका कारण ढोरपाटन क्षेत्रमा सयौँ कृषकले आलु खेतिको उत्पादन गर्ने गरेका हुन । प्रधानमन्त्री कृषि परियोजनाले समेत बाँझो रहेका जग्गामा ६० रोपनी सम्म क्षेत्रफल भएको जग्गा छनौट गरेर चक्लाबन्दी गरेर स्याउका बिरुवा लगाएको हो ।
आलु र स्याउ दुबैको राम्रो बजार सम्भावना रहेका कारण आफूहरूले उक्त व्यवसायलाई प्राथमिकता दिएको उनीहरूको भनाई छ ।
गतबर्ष २४ सय स्याउका बिरुवा बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा कृषकलाई अनुदानमा उपलब्ध गराएकोमा यो कार्यक्रमलाई निरन्तरता दिँदै जाने कृषि ज्ञान केन्द्र बागलुङ बागबानी अधिकृत कुमार पुनले बताउनु भयो ।