२८ जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले फणिन्द्र देवकोटा, दिपक मनाङे र पञ्चराम तमुलाई मन्त्री बनाउने भएका हुन् ।
पाण्डेलाई विश्वासको मत दिन देवकोटाले फ्लोर क्रस गरेका थिए । उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद हुन् ।
त्यसैगरी यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन लागेका हुन् ।यसअघि खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा गएका दिपक मनाङले पनि सोमबार सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए । उनी पनि मन्त्री बन्दैछन् ।
माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्दै मत दिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।
जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराजले सोमबार विश्वासको मत मागेका थिए ।
पाण्डेको दल कांग्रेसका २७ सांसद छन् । राप्रपाका २, नेसपाका देवकोटा र मनाङबाट स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मत दिएपछि मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदले पक्षमा हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।
माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले विश्वासको मत नदिन ह्वीप जारी गरेका थिए ।
विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै उनले सांकेतिक रूपमा ह्वीप उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिएका थिए ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले पनि एउटा दलको सांसदले अर्को दललाई मत दिने विकृति नदोहोर्याउन आग्रह गरेका थिए ।
तर नेसपाका प्रदेश सांसद फणिन्द्रले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उभिएपछि एमाले सांसदहरूले प्रदेशसभामा नाराबाजी समेत गरेका थिए ।
एमालेका २२ र माओवादीका ६ सहित २८ सांसदले विश्वासको मत लिने प्रस्तावका विपक्षमा मत दिए ।
मुख्यमन्त्री पाण्डेसँग विश्वासको मत लिन १३ असारसम्म समय थियो । शीर्ष नेताहरूसँग छलफलपछि सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगाडि नै विश्वासको मत लिने निष्कर्षमा पुगे ।
सुरुमा खगराज मुख्यमन्त्री हुँदा सरकारमा गएको राप्रपा केन्द्रीय सत्ता समीकरण फेरिएसँगै तटस्थ बसेको थियो ।
तर यो पटक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लाई साथ दियो । केन्द्रीय सत्ता समीकरण बदलिँदा प्रदेशमा छाप नपरोस् भनेर केन्द्रको गठबन्धनका विपक्षमा गण्डकीमा सुरेन्द्रराजलाई समर्थन गरेको राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले बताएका छन् ।
स्वतन्त्र सांसद दीपक मनाङेले ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि जसले ३० पुर्याउँछ, उसैलाई मत दिने बताएका थिए । मनाङेले यसअघि पनि जता बहुमत हुन्छ, उतै समर्थन गर्दै पाँचौ पटक मन्त्री बनिसकेका छन् ।