spot_img

तरलता अभाव देखाएर सहकारी बन्द

बागलुङ — आर्थिक तरलता अभाव भन्दै एक सहकारी संस्थाले कार्यालय बन्द गरेको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाले बुधवारको सञ्चालक बैठकले निर्णय गरेको भन्दै सूचना टाँसेर कार्यालय बन्द भएको जनाएको हो । केहीदिन अघिदेखि नै सहकारीले बचतकर्ताको रकम दिएको थिएन ।

बिहीबार बिहान कार्यालय पुग्नेले सूचना टाँसेको देखेपछि शेयर सदस्य, बचतकर्ता लगायतले आफ्नो रकम डुब्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘मेरो बचत इमेज सहकारीमा मात्रै थियो, बर्बाद हुने भयो’ बागलुङ नगरपालिका–१ का सुजन रेग्मीले भने, ‘पैसा झिक्न नपाए कारोवारमा समस्या हुने भयो ।’ उनले सञ्चालक कसैले पनि फोन गर्दा नउठाए

सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली ढोरपाटन नगर प्रमुख छन् । कार्यालय बन्द भएको बारे सोध्न फोन गर्दा नेपालीले उठाएनन् । नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रीय सञ्चालक चण्डीप्रसाद शर्माले सहकारी बन्द भएकोबारे जानकारी नपाएको बताए । ‘केही समस्या भएको भए संस्थागत कुरा गरेको भए पनि हुन्थ्यो’ शर्माले भने, ‘कार्यालय बन्द गर्नु राम्रो होइन ।’ तरलता अभाव भए पनि सानो कारोवार गर्न सकिने र ठूलो भुक्तानी क्रमशः दिन सकिने शर्माले बताए ।

कारोवार बन्द भएपछि बिहिवार बचतकर्ताको भीड लागेको थियो । भीड धेरै भएपछि दिनभरी प्रहरीले सुरक्षा दिएका थियो । सहकारीका कर्मचारी पनि कार्यालयमा थिएनन् ।

गैरसेयर सदस्यसँग कारोबार गरेको खुलेको छ । ‘मेरो सेयर छ/छैन, ५ लाख बढी कारोबार थियो,’ बानपा–२ की पूजा शर्माले भनिन्, ‘हामी बर्बाद हुने भयौं ।’ यसअघि उनले यहाँकै शिव शिखर सहकारी संस्थामा पनि लाखौंको कारोबार गरेको र भुक्तानी नपाएको गुनासो गरिन् । शिव शिखर सहकारीले पनि २ महिनाअघिदेखि नै भुक्तानी नदिएपछि सेयर र बचतकर्ताले सहकारीको पसलबाट सामान उठाएका थिए । अहिले उक्त सहकारीको पनि कारोबार ठप्प छ । सञ्चालक सम्पर्कभन्दा बाहिर छन् भने यहाँ सञ्चालित पसल पनि बन्द भएको छ ।

गत पुसमा भएको साधारणसभामा इमेजले सहभागी सेयर सदस्य र बचतकर्तालाई प्रतिवेदनसमेत दिएको थिएन । संस्थाको पदाधिकारीबारे अधिकांशले जानकारी नपाएको गुनासो गरे । ‘साधारणसभामा बोलाएर गयौं, तर पदाधिकारी पनि चिनिएन, आर्थिक प्रतिवेदन पनि बताइएन,’ एक बचतकर्ताले भने, ‘यस्तो अवस्था हुने रहेछ त्यसैले कुरा लुकाइएको होला ।’ सहकारीले १८ प्रतिशत ब्याज दिने भन्दै बचतकर्ताको रकम संकलन गरेको थियो । अध्यक्ष नेपालीले पोखरा, बागलुङ, बुर्तिवाङ र काठमाडौंमा बनाएका घरमा सहकारीको लगानी भएकोले नगद अभाव भएको हुन सक्ने अनुमान गरिएको छ ।

कान्तिपुर अनलाईनबाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित