बुर्तिबाङ, बागलुङ —
दिगो पर्यटन प्रवर्द्धन परियोजना अन्तर्गत ढोरपाटन क्षेत्रका स्थानीय समूह तथा क्लबहरूको संस्थागत सुदृढीकरणका लागि आयोजित दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ।
tdh जर्मनको सहयोग बिवाइसी बागलुङको विकास साझेदारीमा सञ्चालित उक्त कार्यक्रम संस्थाका अध्यक्ष टोयानाथ गौतमको अध्यक्षतामा बुर्तिबाङस्थित होटल स्नेहामा सम्पन्न भएको हो। सन् २०२६ जुलाई ३० र ३१ (साउन १४ र १५) गते आयोजित तालिममा ढोरपाटन क्षेत्रका युवा समूह, महिला समूह र बाल क्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। स्थानीय समूहहरूलाई संस्थागत रूपमा सबल बनाउँदै दिगो पर्यटन, जैविक विविधता र वातावरण संरक्षणका गतिविधिमा उनीहरूको नेतृत्वदायी पहुँच बढाउने उद्देश्यका साथ यो तालिम सञ्चालन गरिएको हो।
तालिममा मुख्य प्रशिक्षक कृष्ण कँडेलले सहभागीहरूलाई संस्थागत विकास, दिगो पर्यटन प्रवर्द्धन, कुशल समूह व्यवस्थापन, बैठक सञ्चालन, अभिलेखीकरण (डकुमेन्टेसन), कुशल नेतृत्व र वित्तीय साक्षरता (बचत तथा बजेट व्यवस्थापन) जस्ता व्यावहारिक विषयमा अभ्यास गराउनुभएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष टोयानाथ गौतमले ढोरपाटन क्षेत्रको प्राकृतिक सम्पदाको जगेर्ना गर्दै पर्यटकीय विकास गर्न स्थानीय नागरिक समुदाय, महिला, युवा र बालबालिकाहरूको भूमिका निर्णायक हुने बताउनुभयो। सो क्रममा उहाँले यस क्षेत्रको सामाजिक-आर्थिक रूपान्तरण र चेतना अभिवृद्धिमा गैरसरकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै बिवाइसी बागलुङले स्थानीय तह र समुदायसँग सहकार्य गरेर निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। उहाँले स्थानीय समूहहरू संस्थागत र आर्थिक रूपमा बलियो बनेमा मात्रै समृद्ध गाउँ-ठाउँको निर्माण सम्भव हुनेमा जोड दिनुभयो।
कार्यक्रममा प्रवर्द्धक संस्था तथा परियोजनाका प्रतिनिधिहरूले तालिममा प्राप्त ज्ञानलाई आ-आफ्नो समूह र वडामा लागू गर्न आग्रह गर्नुभयो। तालिमपछि उत्साही बनेका सहभागी प्रतिनिधिहरूले आगामी दिनमा संस्थागत रूपमा सक्षम हुँदै स्थानीय स्तरमा फोहोर व्यवस्थापन, वन तथा वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, तालिमबाट सिकेका व्यावहारिक ज्ञानले समुह तथा संस्थागत समस्याहरू हल गर्न अझ सहज हुने उनीहरूको भनाइ थियो।

















