बागलुङ । बागलुङको ढोरपाटनस्थित प्रसिद्ध मा जनैपूर्णिमा अर्थात् ऋषितर्पणीको अवसरमा पूजा–अर्चना तथा दर्शन गर्न हजारौँ श्रद्धालु भक्तजन पुगेका छन्।
जनैपूर्णिमाको अघिल्लो दिन बिहीबारदेखि नै ढोरपाटन पुग्ने श्रद्धालुको संख्या बढेको थियो। ढोरबराह मन्दिरमा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन बराह देवताको पूजाआजा गर्नुका साथै दिवंगत पितृको सम्झनामा अर्चना गर्ने परम्परा रहेको छ। यसै कारण जनैपूर्णिमा ढोरपाटन क्षेत्रकै महत्वपूर्ण धार्मिक पर्व तथा मेलाका रूपमा स्थापित हुँदै आएको छ।

ढोरबराहको दर्शन तथा पूजा–अर्चनाका लागि बागलुङसहित रुकुम, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, म्याग्दी, मुस्ताङ, पर्वत, कास्की, काठमाडौं, भरतपुरलगायत देशका विभिन्न जिल्लाबाट श्रद्धालु ढोरपाटन पुगेका छन्।

स्थानीय धार्मिक मान्यताअनुसार ढोरबराह देवताको दर्शन तथा पूजा गरेमा मनोकामना पूरा हुने विश्वास छ। मनोकामना पूरा भएपछि कतिपय भक्तजनले भाकलअनुसार भेडाको बलिसमेत चढाउने गरेका छन्। त्यस्तै, दिवंगत पितृको सम्झनामा उत्तरगंगा नदीमा पिण्ड, फूलपाती तथा चिना अर्पण गर्ने परम्परासमेत रहेको छ।
मन्दिरमा बिहान सबेरैदेखि नै भेडाको बलि दिने, पूजा–अर्चना गर्ने तथा भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको छ।

ढोरपाटन पुग्ने सडकमा निरन्तरको वर्षाका कारण फल्लेघरलगायत क्षेत्रमा सडक अवरुद्ध हुँदा भने श्रद्धालु तथा यात्रुले सास्ती खेप्नुपरेको छ। सडकको कठिन अवस्थाका बाबजुद पनि धार्मिक आस्था र परम्पराका कारण भक्तजनको आगमनमा कमी आएको छैन।
यस वर्ष ढोरपाटन नगरपालिकाको आयोजनामा प्रथम आलु महोत्सव तथा जनैपूर्णिमा मेला समेत आयोजना गरिएको छ। धार्मिक पर्यटनसँगै ढोरपाटनको कृषि, विशेषगरी आलु उत्पादन तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

















