छविलाल पाण्डे, भदौ ३ गते
बागलुङको ढोरपाटन नगरपालिकाले घरमै सुत्केरी हुने दर घटाउँदै लगेको छ। नगरपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रम, स्वास्थ्य संस्थाको उचित व्यवस्थापन, पोषणमैत्री कार्यक्रम तथा स्वास्थ्य संस्थामा सुत्केरी प्रतीक्षाघर निर्माणलगायतका कार्यक्रम सञ्चालन गरेपछि स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने महिलाको संख्या बढ्दै गएको हो।
नगरपालिकाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कुल ४ सय जना महिला सुत्केरी हुँदा ५९ जना घरमै सुत्केरी भएका थिए। आर्थिक वर्ष २०८१/०८२ मा ४ सय ७ जना सुत्केरी हुँदा घरमै सुत्केरी हुनेको संख्या घटेर २१ जनामा झरेको थियो। गत आर्थिक वर्ष २०८२/०८३ मा भने कुल ४ सय ३५ जना सुत्केरी हुँदा १२ जना मात्रै घरमै सुत्केरी भएका छन्।
घरमै हुने सुत्केरीको संख्या शून्यमा झार्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूमिश्वर शर्माले बताउनुभयो। उहाँका अनुसार भौगोलिक विकटता, यातायातको सहज पहुँचको अभाव तथा जनचेतनाको कमीका कारण अझै केही वडामा घरमै सुत्केरी हुने समस्या देखिएको छ।

नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेका कारण पछिल्ला वर्षमा घरमै सुत्केरी हुने दर क्रमिक रूपमा घट्दै गएको कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले बताउनुभयो। स्वास्थ्य संस्थामै पुगेर सुरक्षित रूपमा सुत्केरी हुने वातावरण निर्माण गर्न नगरपालिकाले आवश्यक कार्यक्रमलाई निरन्तरता दिएको उहाँको भनाइ छ।
ढोरपाटन नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ मा पछिल्ला दुई वर्षदेखि घरमै सुत्केरी हुने दर शून्यमा झरेको छ। तर वडा नम्बर ६, ७, ८ र ९ मा भने अझै समस्या कायमै रहेको स्वास्थ्य शाखाले जनाएको छ।
नगरपालिकाले चालु आर्थिक वर्षमा थप सुत्केरी प्रतीक्षाघर निर्माणलाई प्राथमिकता दिने भएको छ। प्रतीक्षाघरको व्यवस्थाले गर्भवती महिलालाई स्वास्थ्य संस्थामै बसेर सुरक्षित सुत्केरी हुने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ। स्वास्थ्य संस्थामा सुत्केरी भएपछि महिलालाई कम्तीमा २४ घण्टासम्म स्वास्थ्यकर्मीको निगरानीमा राखी आवश्यक उपचार तथा रेखदेख गरिने व्यवस्था रहेको छ। परिवारका सदस्यले समेत त्यहीँ खाना पकाएर खुवाउन तथा बस्न सक्ने सुविधा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
कतिपय वडाले स्वास्थ्य संस्थामै अनिवार्य सुत्केरी गराउने उद्देश्यले ‘वडा अध्यक्षसँग आमा सुरक्षा कार्यक्रम’ सञ्चालन गरी प्रोत्साहनका कार्यक्रमसमेत अघि बढाएका छन्। नगरपालिकाले नर्सिङ कर्मचारीलाई उत्प्रेरणा तथा आवश्यक प्रोत्साहन, सुत्केरीपश्चात् घरभेटघाट, गर्भावस्थामा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकामार्फत घरमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस्ता कार्यक्रमका कारण गर्भवती महिलामा स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराउने, स्वास्थ्यकर्मीको परामर्श लिने तथा स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी हुने प्रवृत्तिमा वृद्धि भएको नगरपालिकाको भनाइ छ।
नगरपालिकाले अब बाँकी रहेको घरमै सुत्केरी हुने अवस्थालाई समेत अन्त्य गर्दै ‘शून्य घर सुत्केरी’ नगर बनाउने लक्ष्यसहित स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ।

















