बुर्तिबाङ, साउन १२ गते – बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा नवनिर्मित १८ कोठे भूकम्प प्रतिरोधी विद्यालय भवन मंगलबार एक कार्यक्रमका बीच उद्घाटन तथा विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
गोर्खा वेल्फेयर ट्रस्ट नेपालको सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले गर्नुभएको हो। २०७७ सालको बाढीले विद्यालयका अधिकांश संरचना बगाएपछि भवन अभावमा पठनपाठन सञ्चालन गर्न बाध्य विद्यालयले अब आधुनिक र सुरक्षित भवन पाएको छ।
विद्यालयमा विद्यार्थी संख्या बढ्दै जानुका साथै माध्यमिक तह सञ्चालनका लागि पर्याप्त भौतिक पूर्वाधार आवश्यक परिरहेका बेला नयाँ भवन निर्माण भएपछि शैक्षिक गतिविधि थप सहज हुने अपेक्षा गरिएको छ।
२ करोड ६८ लाखभन्दा बढी लागतमा निर्माण
विद्यालय भवन निर्माणमा कुल २ करोड ६८ लाख ९४ हजार ८ सय ४९ रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ। यसमध्ये गोर्खा वेल्फेयर ट्रस्ट नेपालले २ करोड ४३ लाख १६ हजार ४२४ रुपैयाँ तथा विद्यालयले १० प्रतिशत साझेदारीअन्तर्गत २५ लाख ७८ हजार ४२४ रुपैयाँ व्यहोरेको छ।

नवनिर्मित दुईतले भवनमा १८ वटा कक्षाकोठा, पुस्तकालय कक्ष, शौचालय तथा आवश्यक शैक्षिक पूर्वाधारको व्यवस्था गरिएको छ।

गुणस्तरीय शिक्षाका लागि पूर्वाधार आवश्यक : मन्त्री शेरचन
उद्घाटन समारोहलाई सम्बोधन गर्दै आर्थिक मामिला मन्त्री जीत शेरचनले गुणस्तरीय शिक्षाका लागि आधुनिक र सुरक्षित भौतिक पूर्वाधार अपरिहार्य रहेको बताउनुभयो। उहाँले गोर्खा वेल्फेयर ट्रस्ट नेपालले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै सरस्वती माध्यमिक विद्यालय अब भौतिक तथा शैक्षिक रूपमा नमुना विद्यालय बन्ने विश्वास व्यक्त गर्नुभयो।
मन्त्री शेरचनले गण्डकी प्रदेश सरकारले जनताको प्रत्यक्ष जीवनसँग जोडिएका विकास आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै बागलुङ जिल्लामा रणनीतिक सडक, ११ भन्दा बढी मोटरेबल पुल, बोबाङमा बहुवर्षीय सिँचाइ आयोजना लगायतका योजनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। प्रदेशको आर्थिक आधार सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलक बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोर्खा वेल्फेयर ट्रस्ट नेपालका फिल्ड डाइरेक्टर लेफ्टिनेन्ट कर्नेल जोनिफेन, प्रोग्राम डाइरेक्टर दीपक कुमार श्रेष्ठ, एरिया वेलफेयर अफिसर श्याम कुमार लामा, प्रोग्राम म्यानेजर जीवन गुरुङ, स्थानीय समाजसेवी गगन पुन, ढोरपाटन नगरपालिका शिक्षा शाखा अधिकृत ज्ञानेन्द्र सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालयका प्रधानाध्यापक थमप्रकाश जैसीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक शिव चालिसेले गर्नुभएको थियो।
२०७७ सालको बाढीबाट प्रभावित विद्यालयमा आधुनिक, सुरक्षित र भूकम्प प्रतिरोधी भवन निर्माण भएसँगै सरस्वती माध्यमिक विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ भएको स्थानीयवासीले बताएका छन्।

















