बुर्तिबाङ, बागलुङ ।
बागलुङको बुर्तिबाङदेखि ढोरपाटन जोड्ने बहुचर्चित सालझण्डी–ढोरपाटन सडक खण्ड निर्माणका क्रममा पछिल्लो समय बेनामे उजुरीको समस्या बढेको छ । लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकमा धमाधम निर्माण कार्य भइरहेका बेला पटक–पटक अख्तियारमा उजुरी परेपछि काम प्रभावित बनेको निर्माण पक्षले जनाएको छ ।
सडक खण्डअन्तर्गत २२ किलोमिटर स्ट्यान्डर्ड ग्राभेलिङसहितको काम अन्तिम चरणमा पुगेको छ । उक्त निर्माण प्रक्रियामा हालसम्म ४ वटा बेनामे उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको बताइएको छ । उजुरीका कारण आवश्यक काम अघि बढाउन तथा कार्यसम्पादनमा असहजता सिर्जना भएको निर्माण पक्षको भनाइ छ ।
यसैबीच, सालझण्डी–ढोरपाटन सडकअन्तर्गत फल्लेघरदेखि देउरालीतर्फ जोड्ने करिब ३ किलोमिटर सडक खण्डको निर्माण कार्य पनि तीव्र गतिमा भइरहेको छ । तर उक्त आयोजनामा समेत बेनामे उजुरी परेपछि निर्माण कार्यमा समस्या देखिएको छ ।
करिब एक दशकदेखि अलपत्र अवस्थामा रहेको सडक खण्डमा पछिल्लो समय कामले गति लिँदै गर्दा अनावश्यक उजुरीले विकास निर्माण प्रभावित भएको भन्दै स्थानीय सरकार, राजनीतिक दल तथा सडक निर्माण संघर्ष समितिले चासो देखाएका छन् ।

बिहीबार ढोरपाटन नगरपालिका कार्यालयमा भएको छलफलमा राजनीतिक दलका प्रतिनिधि, सडक निर्माण संघर्ष समितिका पदाधिकारी तथा ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायत सहभागी भएका थिए । बैठकले सडक आयोजना निर्माणमा अवरोध सिर्जना गर्ने गतिविधिको पहिचान गर्ने तथा निर्माण कार्य सहज बनाउन सम्बन्धित निकायमा आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
सडकको फल्लेघर–देउराली खण्ड कालोपत्रे गर्ने जिम्मा पाएको पिटिआर अधिकारी कन्ट्रक्सन कम्पनीविरुद्ध वन क्षेत्रमा अवैध क्रसर सञ्चालन गरेको भन्दै उजुरी परेको थियो । सोही विषयमा सब–डिभिजन वन कार्यालय बुर्तिबाङले वन क्षेत्रबाट क्रसर हटाउन ताकेता गरेको जनाएको छ ।
निर्माण कम्पनीले भने सडक निर्माणका क्रममा वन क्षेत्र फँडानी नगरेको र निर्माण प्रयोजनबाहेक अन्यत्र गिटी–बालुवा ओसारपसार नगरेको दाबी गरेको छ । कम्पनीले केही महिनाभित्रै क्रसर हटाउने गरी समन्वय गरिदिन आग्रह गर्दै आएको जनाएको छ ।
छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधि, सडक निर्माण संघर्ष समिति र ढोरपाटन नगरपालिकाले सडक निर्माणलाई निरन्तरता दिन आवश्यक समन्वय गर्ने र सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेका छन् । दशकौंदेखि प्रतीक्षामा रहेको सडक निर्माण सम्पन्न गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका छन् ।








