सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक ।।

२०८२ असोज २४ , बुर्तिबाङ ,

अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पटक जलजला पुगेका थिए ।

यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवै तिरबाट जोडिएको छ । नजिकैबाट दर्जनौँ हिमश्रृङ्खला र सूर्योदय गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।

पाँच वर्ष अगाडिसम्म जलजला आझेलमै थियो । तर पछिल्लो समय तीव्र रुपमा प्रचारप्रसार हुँदा हिउँद याममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्ष मात्रै सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरी गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा नचल्दा पर्यटकले सास्ती खेप्नु परेको छ ।

ढोरपाटन उपत्यकाबाट घना जंगल र ठूला जंघार पार गर्नु पर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठेसाँघु तर्नु पर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले बताउनुभयो । दुई वर्ष यता जलजला जाने पर्यटकको संख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकको उहाँले सुनाउनुभयो ।

ढोरपाटन–जलजला सडकको गुरुघाटमा एउटा र दुई वटा गुर्जाघाट काठको साँघु हाल्नु पर्ने उहाँको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाई दिएको भन्दै अब केही दिनमा सडक सफाई गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताउनुभयो । म्याग्दीको धवलागिरी गाउँपालिकाले मरेनी सडकलाई सफाई गरे पर्यटक सहज रुपमा जलजला आउन सक्ने उहाँ बताउनुहुन्छ । अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेको पुनले बताउनुभयो । ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उहाँको भनाइ छ ।

“अघिल्लो वर्षदेखि जलजला जाने पर्यटकको भिड बढ्न थालेको छ, पहिले जलजला क्षेत्र सुनसान थियो, गोठालाहरु मात्रै पुग्थे, यो ठाउँ वास्तवमै सुन्दर छ, प्रचारप्रसारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो” अध्यक्ष पुनले भन्नुभयो – “यस वर्ष लामो वर्षा भयो, ठाउँ–ठाउँमा बाटो बिग्रिएको छ, साँघु हाल्नु पर्ने छ, अब केही दिनमै त्यो काम गर्छौँ, तिहारसम्म पर्यटक पुग्ने छन् ।”

समुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा रहेको जलजलाबाट धौलागिरी, माछापुछ«े, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरी लगायत दुई दर्जन बढी हिमाल एकै ठाउँ उभिएर नजिकै देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तुल्सीपुर दाङबाट घुम्न आउनु भएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो पोख्नुभयो । सामाजिक सञ्जालमा जलजलाबाट देखिने हिमश्रृङ्खलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्येक्ष घुम्न आएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो – “ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भइसकेको रैनछ, ठाउँ–ठाउँमा पहिरो र खोलाका कारण यात्रा गर्न सकिदैन भन्ने सुनियो, त्यही भएर यसपाली जलजला पुग्ने इच्छा पुरा हुन सकेन, हुन त यो साल धेरै वर्षा भयो त्यही भएर पनि होला ।”

रोकायाले १२ जनाको सूमहमा घुम्न आएको सुनाउनुभयो । जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको उहाँको भनाइ छ । यतिबेला जलजला पुग्ने गरि ढोरपाटन आएकाहरु उपत्यकाबाटै फर्किने गरेका छन् ।

आर्दश सञ्चारबाट साभार

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img