बागलुङ । बागलुङ क्षेत्र नम्बर २ अन्तर्गतका स्थानीय तहमा बाढीपहिरोबाट भएको क्षति, राहत तथा उद्धारका विषयमा अन्तरक्रिया कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण भएको जनधनको क्षति, प्रभावित नागरिकको अवस्था, स्थानीय तहले गरिरहेका काम, भोग्नुपरेका चुनौती तथा राहत र पुनःस्थापनाका विषयमा पालिकागत प्रतिवेदन प्रस्तुत गर्दै छलफल गरिएको हो।

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको आयोजनामा भएको कार्यक्रममा क्षेत्र नम्बर २ का ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो।
कार्यक्रममा विपद् व्यवस्थापन विशेष समितिका सभापति कृष्ण पौडेल, प्रतिनिधिसभा सदस्य गीता देवकोटा र रेणुका काउचा, राष्ट्रियसभा सदस्य सम्झना देवकोटा, समितिका सचिव श्रीकृष्ण अधिकारी तथा सदस्य तुलबहादुर कँडेलको विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवर र दिलमाया पौवीसहित निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायत, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा, ताराखोला गाउँपालिका अध्यक्ष हिमाल विक तथा बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वनलगायतले पालिकागत क्षतिको विवरण र राहत तथा उद्धारका विषयमा धारणा राखेका थिए।
प्रस्तुत विवरणअनुसार ढोरपाटन नगरपालिकामा मानवीय क्षति नभए पनि भौतिक संरचना, पशुचौपाया तथा कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ। निसीखोला गाउँपालिकामा मानवीय तथा भौतिक दुवै प्रकारको क्षति भएको छ। गाउँपालिकामा बाढीपहिरोबाट करिब ४७ करोड २४ लाख रुपैयाँ बराबरको क्षति भएको विवरण प्रस्तुत गरिएको छ।
त्यस्तै ताराखोला गाउँपालिकामा पनि मानवीय क्षतिसँगै ठूलो मात्रामा भौतिक क्षति भएको छ। गाउँपालिकामा भौतिक संरचनातर्फ मात्रै करिब ५१ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी गराइएको थियो।
कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरूले स्थानीय सरकारले आफ्नो क्षमता र स्रोतसाधनअनुसार राहत वितरण, क्षतिको विवरण संकलन तथा उद्धारका काम गरे पनि बजेट अभाव र संघीय सरकारबाट समयमा आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा थप राहत तथा पुनःस्थापनाका कार्यक्रम अघि बढाउन कठिनाइ भइरहेको बताएका थिए।
विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूले जोड दिएका थिए। यस्ता कार्यक्रम औपचारिकतामा मात्र सीमित नभई पीडित नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी हुनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।
कार्यक्रममा समितिका सभापति कृष्ण पौडेलले रसुवाको भोटेकोशीमा आएको बाढी नेपालको इतिहासमा पाँच हजार वर्षयताकै ठूलो प्रलयकारी घटनामध्ये एक भएको उल्लेख गर्दै विपद्मा परेका नागरिकप्रति राज्यका सबै निकायको जिम्मेवारी रहेको बताए।
उनले विपद् प्रभावित नागरिकको दुःखलाई आफ्नै दुःख सम्झेर सरकार र सुरक्षाकर्मीसँग हातेमालो गर्दै समस्या समाधानका लागि आफूहरू निरन्तर खटिएको बताए। बिहान, दिउँसो र बेलुका समेत बैठक बसेर विपद् प्रभावित क्षेत्रका समस्या समाधानका उपाय खोजिएको उनको भनाइ थियो।
कार्यक्रममा प्रस्तुत क्षतिको विवरण, स्थानीय तहका चुनौती तथा राहत र पुनःस्थापनाका आवश्यकताबारे छलफल गर्दै प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिइएको थियो।

















