बागलुङ, कात्तिक २० गते ।
तिहार नजिकिँदै गर्दा बागलुङमा फूलको माग र महत्व बढ्दै गएको छ । झिलिमिली बत्ती र फूलले सजिने तिहारमा विशेषगरी सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग बढी हुने गरेको छ । पछिल्लो समय फूलको प्रयोग तिहारमा मात्र नभई विवाह, उत्सव तथा विभिन्न समारोहमा पनि बढ्दै गएको छ । तर, बागलुङमा फूलको माग बढे पनि व्यावसायिक खेतीमा भने किसानको आकर्षण अपेक्षाकृत बढ्न सकेको छैन ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीकासँगै लगाइदिने फूलको माला बनाउन आवश्यक पर्ने फूल स्थानीयस्तरमै उत्पादन हुने गरे पनि पर्याप्त मात्रामा उत्पादन हुन सकेको छैन । विगतमा तिहारका लागि आवश्यक सयपत्री, मखमली र गोदावरी फूल बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेकामा अहिले स्थानीय किसानले पनि केही मात्रामा फूल खेती गर्न थालेका छन् ।
स्थानीय किसानले तिहारमा आफूलाई आवश्यक पर्ने तथा अचैँचोपैँचोका लागि फूल लगाउने गरेका छन् । घरमा आवश्यकताभन्दा बढी उत्पादन भएको फूल भने बजारमा बिक्री गर्ने गरिएको स्थानीय बताउँछन् ।

यतिबेला बागलुङका ग्रामीण क्षेत्रमा सयपत्री, मखमली, थुँगे, गोदुली र हजारीलगायत फूल फुलेका छन् । तिहारमा बजारमा पाइने रंगीचंगी प्लास्टिकका मालाभन्दा स्थानीयस्तरमा उत्पादित सयपत्री र मखमली फूलका मालाको प्रयोग बढ्न थालेको छ ।
बागलुङमा उत्पादित फूलले स्थानीय बजारको माग पूर्ण रूपमा धान्न नसक्दा अन्य जिल्लाबाट तथा भारतबाट समेत फूल आयात गर्नुपर्ने अवस्था रहेको फूल व्यापारीहरू बताउँछन् । स्थानीय उत्पादन नियमित र पर्याप्त नहुँदा बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।
व्यापारीका अनुसार अहिले बागलुङमा उत्पादित फूल प्रतिकिलो दुई सयदेखि दुई सय ५० रुपैयाँसम्म खरिद गरी करिब तीन सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ । बाहिरी जिल्लाबाट आयात गरिएको फूल भने प्रतिकिलो चार सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
तिहारमा मात्र नभई वर्षभरि नै सयपत्री फूलको माग हुने गरेको छ । विवाह, उत्सव, स्वागत तथा विभिन्न धार्मिक र सामाजिक कार्यक्रममा फूलको प्रयोग बढ्दै गए पनि मागअनुसार उत्पादन हुन सकेको छैन ।
कात्तिक महिनामा सयपत्री फूल फुल्ने र सोही समयमा तिहार पर्ने भएकाले सयपत्री तथा मखमली फूलको तिहारसँग विशेष सम्बन्ध रहँदै आएको छ । तर, बागलुङमा बाह्रै महिना आवश्यक पर्ने फूलको उत्पादन हुन नसकेको कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।
किसानले मुख्यतः चाडपर्व तथा आफ्नो घरायसी प्रयोजनका लागि फूल खेती गर्ने गरेको कार्यालयको भनाइ छ । फूलको बढ्दो मागलाई अवसरका रूपमा लिएर व्यावसायिक खेती विस्तार गर्न सके स्थानीय किसानको आयआर्जन बढ्नुका साथै बाहिरी जिल्लाबाट हुने आयातसमेत घटाउन सकिने देखिन्छ ।

















