अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा ढोरपाटन नगरपालिकाको आयोजनामा जनता सेकेन्डरी बोर्डिङ स्कुलमा अन्तरविद्यालय विविध प्रतियोगिता तथा शिक्षक–विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ।
ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायत ‘कल्याण’को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाभित्रका विभिन्न विद्यालयबाट शैक्षिक सत्र २०८३ मा कक्षा ५, ८, १० र १२ मा ३.६ भन्दा माथि GPA प्राप्त गर्ने १०७ जना विद्यार्थीलाई खादा, अबिर तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
त्यस्तै, आफ्ना विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल ढोरपाटन नगरपालिकाअन्तर्गतका विद्यालयका १७९ जना शिक्षकलाई पनि खादा, अबिर तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका शिक्षा अधिकृत पुष्पक दाहाल तथा जनता सेकेन्डरी बोर्डिङ स्कुलका प्रधानाध्यापक युवराज महतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

ढोरपाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शीतलबाबु पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ढोरपाटन नगरपालिका सहायक शिक्षा अधिकृत ज्ञानेन्द्र सापकोटाले गर्नुभएको थियो।

















