बागलुङ, असार २४ – जर्मन सरकारको सहयोगमा, विवाईसी बागलुङको विकास साझेदारी र ढोरपाटन नगरपालिका तथा निसिखोला गाउँपालिकामा सञ्चालित दिगो पर्यटन प्रवर्द्धन परियोजना अन्तर्गत ढोरपाटन नगरपालिकामा सरोकारवालाबीच समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमको अध्यक्षता, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाको प्रमुख आतिथ्यता, परियोजना टिम लिडर अमर थापाको स्वागत मन्तव्य र सचिव विक्रम शर्माको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष मुक्तीराम सापकोटा, ढोरपाटन शिकार आरक्षका रेन्जर पदमबहादुर रोकाया, सोलो ट्रेकर तथा डकुमेन्ट्री निर्माता सिर्जना ओली, सेनाका सह(सेनानी प्रनव झा, विवाईसीका कोषाध्यक्ष राजु निउरे, स्थानीय होमस्टे सञ्चालकहरू लगायत ३९ जना सरोकारवालाको उपस्थिति रहेको थियो।
परियोजनाका संयोजक उत्तम अर्यालले परियोजनाबाट सम्पन्न कार्यक्रमहरूको बारेमा प्रस्तुति दिंदै, स्थानीय रोजगारी सृजनासँगै समुदायको आर्थिक अवस्था उकास्ने लक्ष्य रहेको बताए। परियोजनाले होमस्टे, होटल व्यवस्थापन, कफी बेकरी, महिला तथा युवा समूह, बाल क्लबहरू मार्फत सचेतना, सीप विकास तालिम, ऊनजन्य उद्योग, सूचना केन्द्र स्थापना आदि कार्यक्रम सञ्चालन गरेको छ।

जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले ढोरपाटन क्षेत्रलाई केवल चरीचरण वा गोठ क्षेत्रमा सीमित नबनाई, यहाँको शिक्षा, स्वास्थ्य, यातायात लगायत आधारभूत पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने बताए। उनले ढोरपाटन वरिपरिका समुदायलाई समेटेर छुट्टै पालिका गठनको मागलाई समेत तर्कसंगत ठहर गरे।
सोलो ट्रेकर सिर्जना ओलीले ढोरपाटनलाई सोलुखुम्बुको नाम्चे बजार सरह पर्यटनको आधार शिविरको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताउँदै, मौलिकता र प्रकृति जोगाउँदै आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने धारणा राखिन्। उनले फूलको बगैंचा, साइकल मार्ग, पदमार्ग, अनुसन्धान गन्तव्य, आध्यात्मिक क्षेत्र विकास, र स्थानीय गाइड तालिम जस्ता उपायहरू सुझाइन्।
विवाईसी बागलुङका अध्यक्ष गौतमले ढोरपाटन बुकिमा पर्यटकका लागि गोठस्टे सञ्चालन गर्ने सन्देश पुनलाई दुई थान फ्रेम टेन्ट, एक थान शौचालय टेन्टसहित रु। १,९८,९०० बराबरको सामग्री हस्तान्तरण गरे। सामग्री हस्तान्तरण सामाजिक परिचालन अधिकृत ओम सिर्पालीको संयोजनमा सम्पन्न भएको थियो।