ढोरपाटन बैशाख १ गते
बागलुङको ढोरपाटन उपत्यकाको विकासका निम्ती एक दर्जन पञ्चबर्षिय गुरु योजना बनाएर अगाडि बढिने विषयमा छलफल एव्म निर्णय गरिएको छ ।
ढोरपाटन क्षेत्रको विकास र समृद्धिको सन्दर्भमा वृहत छलफल र अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न हुँदै गर्दा विभिन्न १२ वटा विकास निर्माणका विषयलाई प्राथमिकता दिँदै पञ्चबर्षिय गुरु योजनाको रुपमा यसलाई अगाडि बढाएर उपत्यकाको विकास गर्ने जनाइएको हो ।
नागरिकको माग अनुसार ढोरपाटन नविखोलामा मोटरेवल पुल निर्माण, निशेलढोर देखि रुकुम टकसेरा सम्म फायरलाइन मोटरबाटो निर्माण र ग्राभेल, छेन्तुङ देखि जलजला फायरलाईन मोटरबाटो निर्माण तथा ग्राभेल, गाडीखोला छोटा देउराली छेन्तुङ मोटरबाटो निर्माण तथा ग्राभेल, लुप्ली तिघ्रापानी निशेलढोर मोटरबाटो निर्माण तथा फायरलाईन मार्ग निर्माण, फल्लेघर ढोरपाटन देउराली कालोपत्रे सडक निर्माणको योजनालाई प्राथमिकता दिइएको हो ।
त्यस्तै देउराली सलथान सिम्धारा गाडीखोला मोटरबाटो निर्माण ग्राभेल, बुकि एकिकृत गोठ व्यवस्थापन, सेलपाखे देखि फागुने पदमार्ग निर्माण, घट्टेगौडा, गर्पालेक टिकाधारा मोटरबाटो निर्माण, बोगाखानी ढोरपाटन छेन्तुङ सडक निर्माण , परापूर्व कालदेखि मान्दै आएको देउराली धार्नी ठेका ढुँगा संरक्षण जस्ता कार्यक्रम र योजनालाई प्राथमिकता दिने गरी योजना निर्माण गरिएको माननीय दोर्ण कुमार कुवँरले बताउनु भयो ।
आयोजित कार्यक्रममा संघिय वन तथा वातावरण मन्त्री माननीय रुपा वि.क. तथा गण्डकी प्रदेशका वन मन्त्री भेष बहादुर पौडेल, गण्डकी प्रदेश सरकारका प्रमुख सचेतक नन्द प्रसाद न्यौपाने, गण्डकी प्रदेश सभा सदस्य माननीय दोर्ण कुमार कुवँर , माननीय दिलमाया पौवी लगायत गण्डकी प्रदेशका एक दर्जन सांसद र स्थानीय तहका जनप्रतिनिधिको उपश्थितीमा स्थानीय नागरिकको विचमा ढोरपाटन सिकार आरक्षको अवस्था, नागरिकको धारणा,बागलुङ जिल्लाका विभिन्न कार्यालयबाट चालु आर्थिक बर्षमा क्षेत्र नम्बर २ (ख) मा भएका विकास निर्माण र योजना लगायतको विषयमा अन्तरक्रिया छलफल गरिएको हो ।
कार्यक्रम तमानखोला गाउँपालिका अध्यक्ष जोक लाल बुढाको अध्यक्षता, ढोरपाटन नगरपालिका ९ का अध्यक्ष खिम बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।