चैत ८ गते ।
यहि चैत ७ गतेदेखि सञ्चालन भइरहेको कक्षा १० को SEE परीक्षामा सहभागी देविस्थान माध्यमिक विद्यालय निसीखोला वडा नं.१, देविस्थानका ४० जना विद्यार्थीलाई करिब ६ किलोमिटर टाढा बुर्तिबाङ बजारमा रहेको परीक्षा केन्द्रमा विद्यालयबाट नै प्रत्येक दिन गाडिको व्यवस्था गरी शिक्षकको प्रत्यक्ष संलग्नतामा लैजाने र ल्याउने गरेको विद्यालयका प्रधानाध्यपक झग बहादुर क्षेत्रीले बताउनुभयो ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं. १ मा अवस्थित देविस्थान माध्यमिक विद्यालयमा गत मङ्सिर महिनादेखि कक्षा १० र १२ का विद्यार्थीहरु सहित शिक्षकहरु समेत विद्यालयमा नै बसी अध्ययन अध्यापन कार्यलाई अगाडि बढाइएको छ । विद्यालयमा माध्यमिक शिक्षा परीक्षा SEE र कक्षा १२ को SLC परीक्षालाई मध्यनजर गरी विद्यार्थीको पढाइलाई थप प्रभावकारी बनाउनका निमित्त यस्तो कार्य गरेको विद्यालयका प्र.अ. झग बहादुर क्षेत्री बताउनुभयो । विद्यार्थीका अभिभावकको प्रत्यक्ष सहभागितामा छलफल गरी विद्यार्थीहरुलाई विद्यालयमा आवासीय सुविधाको व्यवस्था गरिएको हो ।
कक्षा १० मा ४० जना विद्यार्थी र कक्षा १२ का ३४ जना विद्यार्थीहरु रहेका छन् । यी विद्यार्थीहरुले विद्यालयको शान्त वातावरणमा रमाएर अध्ययन गरिरहेका छन् । विद्यार्थीको पढाइलाई मध्यनजर गरेर प्रत्येक सार्वजनिक बिदामा समेत विद्यार्थीलाई परीक्षामा सामेल गराउने व्यवस्था गरिएको थियो । जसले गर्दा उनीहरु परीक्षादेखि लाग्ने डरबाट मुक्त भएका छन् ।
विद्यालयबाट नै टाढाको परीक्षा केन्द्रमा लैजाने र ल्याउने व्यवस्था हुँदा अनावस्यक खर्चमा कमी आएको विद्यार्थीका अभिभावकले बताएका छन् । हाल विद्यार्थीहरु परीक्षा दिइएर आइसकेपछि पछिल्लो दिनको परीक्षाको तयारी विषय शिक्षककै प्रत्यक्ष सहयोगमा गरिरहेका छन् । यस्तो कार्यले SEE लगायत SLC को नतिजामा सुधार आउने अपेक्षा विद्यालयले राखेको छ । यस विद्यालयमा हाल कक्षा बालविकास देखि कक्षा १२ सम्मका करिब ४२५ विद्यार्थीहरु रहेका छन् । विद्यालयमा अब SEE दिइएर बसेका विद्यार्थीलाई खाली समयको सदुपयोग गर्नका लागि कम्प्युटर आधारभूत तालिम, बोल्ने कला तथा उद्घोषण तालिम समेत सञ्चालन गर्ने योजना रहेको प्र.अ. क्षेत्रीले जानकारी दिनुभयो । विद्यालयले शिक्षण सिकाइ प्रक्रियालाई सहजता ल्याउन तथा विद्यार्थीको सिकाइलाई दिगोपन बनाउनका लागि प्रविधिमैत्री कक्षा सञ्चालनमा समेत जोड दिदै आएको बताइएको छ ।