फागुन १८ गते ढोरपाटन
इलाका प्रशासन कार्यालय बुर्तिबाङमा कार्यालय प्रमुख बिहिन बन्दा गत फागुनको ४ गतेदेखि सबै कामकाज ठप्प बनेको छ । गृह मन्त्रालयले समयमा कर्मचारी पठाउन नसक्दा पश्चिम बागलुङका ४ पालिकाका नागरिकले निरन्तर सास्ती खेप्दै आएका हुन ।
कार्यालयबाट प्रवाह हुने नागरिकता, राजधानी, नागरिकता प्रतिलिपि, अभिलेख पठाउने, दलित, जनजाति प्रमाणित, दुई नामथर प्रमाणित, राष्टिय परिचय लगायत कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा ठप्प भएको पाइएको छ । सेवाग्राही दैनिक रुपमा आइरहनुहुन्छ कार्यालय प्रमुख आउने टुँगो नहुँदा सेवा नदिई हुर्काउनुपर्ने बाध्यता छ इलाका प्रशासन कार्यालयका सहायक कम्प्युटर अप्रेटर पवन खाम्चाको भनाई छ ।
उता बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीका अनुसार यसै हप्ता आउने भन्ने जानकारी प्राप्त भएपनि कर्मचारी नआउँदा आफूले पनि ध्यानाकर्षण गराइरहेको बताउनु भयो । गृह मन्त्रालयबाट फागुन १० गते नै बरिष्ठ सुब्बा नरेश पुडासैनीलाई पठाउने भनिए पनी हालसम्म पुडाशैनी कार्यालयमा आउनु भएको छैन ।
पुडासैनीलाई ढोरपाटन टाइम्सबाट फोन मार्फत सरकारले पठाएको क्षेत्रमा किन अझै कार्यालयमा नआउनु भएको भनी सोध्दा आफू हाल बिदामा घरमा रहेको र बुर्तिबाङ आउने नआउने टुँगो अझै नभएको बताउनु भयो । बुर्तिबाङ दुरीको हिसाबले टाढा रहेका कारण सकभर नजिकै खोजीरहेको र अन्यत्र व्यवस्था नभएको खण्डमा अर्का हप्ताको बुधबार सम्म आउन सक्ने बताउनु भयो ।
पुडासैनीले पारिवारिक समस्या देखाउँदै आउने नआउने विषयमा अन्यौलता रहेको बताउनु भएको हो । । कर्मचारीको कारण अझै कति समय नागरिकले सास्ती खेप्नुपर्ने हो यो विषयमा स्थानीय सरकार, यहाँबाट निर्वाचित जनप्रतिनिधि र राज्यले नै सोच्नुपर्ने होला । दैनिक पचास जना भन्दा बढि सेवाग्राहीले सेवा लिने कार्यालयमा कर्मचारी नहुँदा यहाँका नागरिकले निरन्तर सास्ती खेपिरहेको स्थानीय ज्ञान प्रसाद कँडेलको भनाई छ ।