फागुन १८ गते ढोरपाटन
बागलुङको ढोरपाटन नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ। यान्त्रिकीकरणमार्फत कृषकलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन मिनी टिलर प्रदान गरिएको नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।
कार्यवाहक मेयर कायतका अनुसार १९ जना कृषकलाई मिनी टिलर (हलो) वितरण गरिएको हो। आधुनिक प्रविधिसँगै खेतबारी जोत्न सजिलो होस् भनेर मागमा आधारित भएर कृषकलाई अनुदानमा हलो वितरण गरिएको कायतको भनाई छ ।
गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग यान्त्रिक हलो भएकाले वितरण गरिएको उहाँले बताउनुभयो।
डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उहाँको भनाइ छ। उता मिनि टेलर प्रयोग गर्न सम्भव नहुने स्थानमा हलगोरु पाल्न प्रोत्साहन गरेका छौँ । हलगोरु पाल्ने किसानलाई समेत प्रोत्साहन गर्ने गरी अनदान उपलब्ध गराउने गरी आवस्यक तयारी अगाडी बढाइएको कायतले बताउनु भयो ।
माग र आवश्यकताका आधारमा किसानलाई मिनिटेलर हलो वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख रोशन बलायरले जानकारी दिनुभयो। उहाँले कृषिलाई यान्त्रिकीकरणमा जोडी उत्पादन लागत घटाउन यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। वडाको सिफारीस अनुसार २१ जनाको आवेदन आएकोमा फिल्डमा पुगेर अध्यन गरिसकेपछि १९ जनालाई अनुदानमा मिनि टिलर उपलब्ध गराइएको बलायरको भनाई छ ।