उत्तरगंगा माविमा व्यवस्थापन समिति बैठक: प्रअ व्यवस्थापन देखि लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने तयारी ।

फागुन १४ गते बुर्तिबाङ

बागलुङको ढोरपाटन नगरपालिका १ स्थित उत्तरगंगा माध्यमिक विद्यालय व्यवस्थापन समितिको बैठक फागुन १३ गते बसेको छ ।

गतवर्ष पौष महिनामा गठन भएको समितिले लामो समयदेखि व्यवस्थापन समिति र शिक्षक अभिभावक बिहिन बन्दा शैक्षिक, आर्थिक, भौतिक रुपमा भद्रगोल अवस्थामा रहेको विद्यालयलाई सहि लिकमा ल्याउने प्रयास अगाडि बढाइरहेको हो । जसअनुरूप समितिको हिँजो बसेको बैठकले आगामी फागुन २३ गते अभिभावक भेला गराएर विद्यालयको लेखा परिक्षण प्रतिवेदन अभिभावकको बिचमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

विद्यालयको गत २०७१÷०७२ देखि हुन नसकेको लेखा परिक्षण एकैपटक यसवर्ष गरिएको थियो । १० बर्ष पछि भएको लेखा परिक्षण रिर्पाेट आइसकेको जनाउँदै प्रतिवेदन अनुसार धेरै मात्रामा बेरुजु र असुल उपर जस्ता समस्या देखिएको बताउँदै २३ गते नै अभिभावकको बिचमा सबै विवरण प्रस्तुत गरिने व्यवस्थापन समितिका एक पदाधिकारीले बताएका छन ।

त्यस्तै बैठकले विद्यालयका प्रधानाध्यापक करारमा रहेका कारण पूर्णकालिक प्रधानाध्यापक नियूक्ति प्रकृयालाई अगाडि बढाउनका निम्ती ३ सदस्य विद्यालय योजना प्रस्ताव मूल्याड्कन समितिको गठन गर्ने विषयमा समेत छलफल सहित निर्णय गरिएको जनाइएको छ ।

विद्यालयमा हाल प्रधानाध्यापकको रुपमा इश्वरी प्रसाद पौडेलले कार्यसम्पादन गर्दे आउनु भएको छ । कानून बमोजिम प्रधानाध्यापक नियुक्ति प्रकृयाका निम्ती विद्यालय व्यवस्थापन समिति अध्यक्षले छनौट गरेको एक पदाधिकारी, स्थानीय सरकारका शिक्षा अधिकृत र शिक्षा विकास तथा सम्मोन्य इकाइबाट १ जना प्रतिनिधि चयन गरि ३ सदस्य समिति मार्फत प्रकृया अगाडि बढ्ने श्रोतले जनाएको हो ।

विद्यालयको आर्थिक हरहिसाब र लेखा व्यवस्थापनलाई व्यवस्थित गर्न विद्यालय प्रशासन र लेखा प्रशासनलाई निर्देशन दिने , लेखा व्यवस्थापनमा आवश्यक सहयोग र सहजिकरण गर्न तथा मासिक आर्थिक रिर्पाेट समितिमा ल्याउनका लागि शिक्षक प्रतिनिधि सहित ३ जना सदस्यलाई विशेष जिम्मेवारी प्रदान गर्ने लगायतका विषयमा छलफल एवम् निर्णय गरिएको जनाइएको छ । बैठक विद्यालय व्यवस्थापन समिती अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको हो । 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित