बागलुङ जिल्लाको बडिगाड गाउँपालिका १० आरुपाटामा मंगलबार खसेको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । पहिरोमा बेपत्ता भएका २ बालबालिकाको शव घटनास्थलबाट बिहीबार निकालिएसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको हो ।
मध्याह्न १२ बजेतिर ७ वर्षीय मधु बुढाको शव र अपराह्न पौने ५ बजे १० वर्षीय मनोज बुढाको शव घटनास्थलबाट निकालिएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । तीन दिनदेखि घटनास्थलमा खोजीकार्य जारी छ । घटनामा अझै ११ वर्षका सुमन थापा हराइरहेका छन् ।
मंगलबार बडिगाड १० आरुपाटामा खसेको पहिरोमा स्थानीय जोगबहादुर बुढाको घर पुरिएको थियो । उक्त घटनामा घरधनी बुढासहित उनका परिवारको पनि मृत्यु भएको हो । मंगलबार गएको टोलीले खोजी गर्न नसकेपछि बुधबार नेपाली सेनाको श्रीमेहर गण, सशस्त्र प्रहरी बल र प्रहरीको थप टोली घटनास्थलमा परिचालन भैरहेको छ । पहिरोमा गम्भीर घाइतेमध्ये ३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । एकजनालाई पोखरास्थित मणिपाल अस्पताल र बाँकी घाइते ९ जनाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको हो ।
मृतकहरुको बुधबार र बिहीबार घटनास्थलमै पुगेर पोस्टमार्टम गरिएको छ । धौलागिरि अस्पतालबाट मेडिकल अफिसर डा. छितिज रिजाल नेतृत्व टोलीले पोस्टमार्टम गरेको हो ।