असार १२ गते बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका स्तरीय खेलकुद विकास समिति द्धारा सार्वजनिक सुनवाई गर्दे गाउँपालिका अध्यक्ष कपको आयव्यय विवरण सार्वजनिक गरेको छ ।
बुधबार निसीखोला गाउँपालिका कार्यालयको सभाहलमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गर्दे गत बैशाख १ देखि ६ गतेसम्म भएको गाउँपालिका अध्यक्ष कप कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरेको हो । खेलकुद विकास समिति अध्यक्ष राजमान बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष कप तथा विविध खेलकुद एवम् सांस्कृतिक कार्यक्रम वडा नम्बर १ को देविस्थान माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो ।
कार्यक्रम सञ्चालन व्यवस्थापनका निम्ति निसीखोला गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको छ । समितिका अध्यक्ष राजमान बूढा द्धारा प्रस्तुत विवरणमा कुल १६ लाख ६४ हजार ८ सय २७ रुपैयाँ खर्च भएको पाइएको छ । कार्यक्रम प्रस्तावना भन्दा बढि अन्य विविध खर्च भएका कारण कुल १ लाख ६४ हजार ८ सय २७ रुपैयाँ रकम घाटा हुन पुगेको अध्यक्ष बुढाले बताउनु भयो ।
भलिबल खेलतर्फ ४ लाख ५१ हजार, तेक्वान्डो तर्फ १ लाख १० हजार, अन्य कार्यक्रम तर्फ २ लाख ७९ हजार अफिसियल तर्फ १ लाख ५० हजार, साउन्ड सिस्टम र टेन्ट तर्फ १ लाख ७० हजार रुपैयाँ खर्च भएको पाइएको छ । त्यस्तै अन्य विभिन्न शीर्षकमा खर्च गरेको समितिले व्यवस्थापकीय क्षेत्रमा बढि रकम खर्च भएको जनाइएको हो । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको बताउँदै देविस्थान युवा क्लब लगायत विभिन्न सहयोगी दातालाई धन्यबाद दिँदै आगामी दिनमा थप व्यवस्थित रुपमा अगाडि बढिने बताउनु भयो ।
कार्यक्रममा निसीखोला गाउँपालिका पूर्व अध्यक्ष तारानाथ पौडेल, नेपाली कांग्रेसको तर्फदेखि चेतराम पौडेल, नेकपा एमाले प्रतिनिधि भूमिराज घर्ती, नेकपा माओवादी केन्द्र प्रतिनिधि भीम घर्ती, राजमो प्रतिनिधि थमन घर्ती , देविस्थान युवा क्लब अध्यक्ष भरत पुन लगाएले बोल्दै खेलकुद विकास समितिले आफूले गरेको कार्यक्रमको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेकोमा राम्रो पक्षको सुरुवात भएको बताउँदै मेला महोत्सवलाई अझै व्यवस्थित गर्न फजुल खर्चमा मितव्ययिता ल्याउनुपर्ने, कार्यक्रममा पुरस्कार राशि कम गरेर भएपनि खर्चलाई व्यवस्थित गरिनुपर्ने, खेलकुद लगायतका कार्यक्रम सञ्चालन गर्दे गर्दा कृर्षि, लघु उद्यम जस्ता महत्वपूर्ण वस्तुलाई बजारीकरणमा टेवा पुग्ने गरी अगाडि बढ्नु पर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चन्द्रसिंह रामजाली, उपाध्यक्ष प्रेम बहादुर घर्ती, गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले बोल्दै गाउँपालिकाले अध्यक्ष कप सञ्चालन गर्दे गर्दा समग्र निसीखोला गाउँपालिकाको खेलकुद सँगै कला संस्कृति, भेष भुसाको संरक्षण र सम्र्वधनमा टेवा पुग्ने बताउँदै यस्ता महत्वपूर्ण कार्यक्रममा युवाहरूको सक्रियता आवश्यक रहने बताउनु भयो ।