माघ ६ गते ढोरपाटन
बागलुङको निसीखोला गाउँपालिका वडा नं. १ बाट उमेर नपुग्दै बाल विवाह गरेको आरोपमा प्रहरीले एक जोडी बेहुला बेहुली सहित चार जनालाई पक्राउ गरेको छ ।
गत बिहीबार बाल विवाह गरेको आरोपमा विवाह मण्डपबाट बेहुला बेहुली सहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक डीएसपी एवम् सूचना अधिकारी मदन केसीले जानकारी दिए । ‘विवाह भइरहेको स्थानमा झगडा भएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी त्यहाँ पुगेको थियो,’ विवाह भइरहेको स्थानमा पुग्दै गर्दा बालविवाह भएको पाइएपछि प्रहरीले दुलाहा दुलही सहित चार जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको हो । दुलाहा कक्षा ७ मा र दुलही कक्षा ९ मा अध्ययन गर्दे आइरहेका थिए । बेहुला र बेहुलीको उमेरमा शंका लागेपछि उनीहरूका अभिभावकसहित चार जनालाई पक्राउ गरेका हौँ केसीले भन्नु भयो ।’ पक्राउ परेका बेहुला बेहुलीको उमेर २० वर्षभन्दा कम रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत बागलुङबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पश्चिम बागलुङमा अधिकांश बाल विवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको यो घटना पहिलो हो । मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । सोही बमोजिमको कसूर गर्ने विवाह गर्ने र गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । कम उमेरमा विवाह भएको प्रमाणित भए विवाह स्वतः बदर हुनेछ ।