बुर्तिबाङ माघ ५ गते
दश नमुना शहर अन्र्तगत रहेको बुर्तिबाङ नयाँ शहर आयोजना कार्यालयमा कार्यालय प्रमुख विहीन बन्दा सेवा प्रवाहमा समस्या देखिएको छ ।
कार्यालय प्रमुख अभिषेक अधिकारी दुई महिना पहिले सरुवा भई गएपछि हालसम्म कार्यालय प्रमुख कार्यालयमा नआउँदा भुक्तानी प्रकृया देखि धेरै काम अलपत्र रहेको पाइएको छ । आयोजनाको आर्थिक बर्स २०८०÷०८१ अन्र्तगत कुल ५० प्रतिशत हाराहारीमा काम सम्पन्न भइसक्दा समेत कार्यालयले कुनै पनि भुक्तानी दिन सकिरहेको छैन ।
कार्यालय प्रमुखको रुपमा राम कृष्ण गिरीलाई विभागबाट खटाए पनि हालसम्म कार्यालयमा उपस्थित नहुँदा कार्यसम्पादनमा समस्या भइरहेको नयाँ शहर आयोजना कार्यालय बुर्तिबाङका सूचना अधिकारी कोमल शाहले बताए ।
गिरीलाई विभागले पठाए पनि जिम्मेवारीमा आउन आलटाल गरिरहेको बताइएको छ । शाहका अनुसार आयोजना प्रमुख गिरीले मन्त्रालयबाट पत्र बुझिसकेको तर संघीय कार्यान्वयन इकाईले रमना दिएपछि यसै महिना कार्यालयमा आउने बताए । यस बर्स कुल आठ करोड बजेट नयाँ शहर आयोजनाका निम्ति विनियोजन भएकोमा विभिन्न ७ वटा ठेक्का मार्फत निर्माणको काम सुरु भइरहेको छ ।
५ वटा योजनाको काम सृजना एण्ड कुञ्जम जेभिले जिम्मा पाएको छ एकवटा योजनाको काम श्रीमान निर्माण सेवा हेटौँडाले प्राप्त गरेको हो र अर्का योजनाको समेत काम ठेक्का सम्झौता भइसकेको र अब निर्माणको चरणमा रहेको जनाइएको छ । हालसम्म ६ वटा योजनाको कामका लागी ठेक्का सम्झौता भई मूल्यांकन समेत भइसकेको छ । अधिकांश योजनाको काम चलिरहँदा बुर्तिबाङ घम्चिनमा सडकको ५० लाखको काम सम्पन्न भएको बताइएको छ ।
त्यस्तै ढोरपाटन ३ पुर्काट मा सडकको २५ लाखको काम सकिएको छ । नयाँ शहर आयोजना कुत्थाप्लामा पार्क निर्माणको काम अन्तिम चरणमा रहेको हो । अन्य आयोजनाको काम पनि भइरहेको छ तर गत वर्षको सहित हालसम्म सम्पन्न गरिएका योजनाबाट चार करोड भुक्तानी दिन बाँकी रहेको शाहले बताए ।
गतबर्ष को कार्यक्रम अन्र्तगत असोज महिनामा निर्माण सकिएको कामको समेत हालसम्म भुक्तानी प्राप्त गर्न बाँकी रहेको जेनिशा निर्माण सेवाका प्रमुख दीपक अदैले बताउनु भयो । कार्यालय प्रमुख नभएकै कारण सेवा प्रवाहमा समस्या भएको अदैको भनाई छ । कार्यालयले यसवर्ष सडक, पार्क, सभाहल जस्ता आयोजनामा बजेट विनियोजन गरेको हो । आर्थिक वर्ष २०६७ ÷६८ देखि सरकारले व्यवस्थित शहर बनाउने भन्दै मध्य पहाडी लोकमार्गका विभिन्न १० स्थान छनौट गरेको थियो जसमध्ये बुर्तिबाङ पनि रहेको छ ।
१२ बर्स बित्दै गर्दा कार्यालयले जनअपेक्षा बमोजिम काम गर्न नसकिरहेको सर्वसाधारणको गुनासो छ । आयोजनाले हालसम्म जग्गा खरिद, सडक निर्माण, बसर्पाक, निर्माण, आफ्नै कार्यालय भवन निर्माण पार्क घेराबार, सभाहल निर्माण, सौर्य बत्ती जडान, ढल व्यवस्थापन जस्ता काम गरेपनि दिगो लक्ष्य सहितको गुणस्तरीय काम हुन नसकेको पाइएको छ । अधिकांश निर्माण थालिएका योजना बिचमा अलपत्र अवस्थामा रहेका छन ।
विभिन्न स्थानमा सडक ढलान बसपार्क निर्माण थालिएपनि क्रमागत रुपमा काम हुन नसक्दा अलपत्र छन भने बढि प्रभावकारी ठाँउ मा जग्गा खरिद गर्न नसक्दा प्रशासनिक कार्यालय व्यवस्थापनमा समस्या देखिएको छ । स्थानीय सरकार र नयाँ शहर आयोजना बिच समन्वय हुन नसक्नु, कार्यालय प्रमुख नियमित कार्यालयमा नरहनु र स्थानीयको खबरदारी समेत नहुनुका कारण पनि अपेक्षाकृत उपलब्धीमा गिरावट देखिएको स्थानिय टोल विकास संस्थाका अध्यक्ष सरन पाण्डेले बताए ।
नयाँ सहरका रूपमा निर्दिष्ट क्षेत्रमा कालोपत्रे सडक निर्माण, व्यवस्थित विद्युतिकरण, खानेपानी, ढल निकासी लगायतको प्रबन्ध, उद्यान, खेल मैदान, मनोरञ्जन स्थल, हाट बजार लगायतको निर्माण कार्य व्यवस्थित हुनु पर्ने भनिए पनि अझैसम्म धेरै पूर्वाधार निर्माण हुन सकेको छैन । बसोबासलाई व्यवस्थित गर्ने, बसाइँ सरी तराईका जिल्ला तथा ठूला शहरहरूमा जानेहरूलाई रोक्न यस आयोजना सञ्चालन गरिएको थियो ।एक लाख जनसंख्या अट्ने बस्ती बस्न योग्य पूर्वाधार सहितको संरचना निर्माण गर्ने भनिएपनि त्यसको प्रभावकारिता भने कम देखिएको पाइन्छ ।
सरकारले मध्ये पहाडी लोकमार्ग पर्ने बागलुङको बुर्तिबाङ, पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, अछामको साँफेबगर, तनहुँको डुम्रे, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, बैतडीको पाटनलाई मध्य पहाडी राजमार्गअन्तर्गतका १० नयाँ शहर निर्माण गर्ने लक्ष्य राखेको हो सरकारले पछिल्लो समय अन्य क्षेत्रमा समेत नयाँ शहर निर्माण गर्ने लक्ष्य लिएको हो ।