फरार ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीलाई इन्टरपोल मार्फत खोजिदै 

बागलुङ

सहकारीको बचत रकम हिनामिना पारेर फरार रहेका बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देव कुमार नेपालीलाई इन्टरपोल मार्फत खोज्न थालिएको छ ।

सहकारीका बचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले रेडकर्नर नोटिस जारी गरेको छ ।
मेयर नेपाली जेठ ५ गतेदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका थिए । पोखरा र बागलुङ बजारमा मुख्य कार्यालय सहित गलकोट, बुर्तिवाङ बजारमा सेवा केन्द्र मार्फत बचत संकलन गरी उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशंकामा इन्टरपोल मार्फत खोजी गर्न प्रहरीले रेड कर्नर नोटिस जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।
मेयर नेपाली फरार भएपछि पीडित बचतकर्ताहरुबाट उजुरी आह्वान गरिएको थियो । मेयर नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४८१ जनाले उजुरी दर्ता गराएका छन् । बागलुङमा मात्रै सहकारीले ८ सय सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको डेढ अर्ब बढी रकम बचत अपचलन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको केसीको भनाई छ । “विश्वभर इन्टरपोलमा आवद्ध देशहरुको सुरक्षाकर्मीको सहयोगमा पक्राउ गर्नका लागि रेड कर्नर नोटीस गरिन्छ” प्रनाउ केसीले भन्नुभयो “विश्वको जुन कुनामा भएपनि पक्राउ गरेर नेपाल ल्याउन र बचत कर्ताको रकम फिर्ता गर्नका लागि उक्त नोटीस जारी गरिएको हो ।”
ढोरपाटन–१ बुर्तिवाङमा घर भएका मेयर नेपालीसहित ११ जना सञ्चालकविरुद्ध २५ असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मेयर देवकुमार सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले इमेज सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रुपा विक र झगबहादुर शाहीविरुद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय बागलुङलाई जेठ १६ मा पत्राचार गरेको थियो ।
गत साउन ४ गते इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित