
लोकेन्द्र निरासी, बुर्तिबाङ ।
बागलुङ जिल्लाको निसीखोला धाराखर्कमा शनिबार जातीय भेदभाव तथा जात व्यवस्था विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । निसीखोला गाउँपालिकाको समन्वय र निसीखोला दलित संजाल वडा नं ३ को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं २ का वडाअध्यक्ष कुबिर वि।क।को प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि वि।क।ले कार्यक्रममा बोल्दै जातीय विभेदको अन्त्य नगरेसम्म समाजमा न्याय र समानता कायम हुन नसक्ने बताउनु भयो । उहाँले सबै मिलेर छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्नुपर्ने बताउनु भएको थियो ।
उहाँले मानिस सबै समान भएकाले सबैले मानवीय व्यवहार गरी एकअर्काको सहअस्तित्वलाई स्वीकार्दै समतामूलक समाज निर्माण गर्नुपर्ने बताउनु भयो । यसको लागि दलित सशक्तिकरण र एकताको समेत आवश्यकता रहेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवं दलित अधिकारकर्मी लोकेन्द्र सुनार, निसीखोला दलित संजालका अध्यक्ष रोशन विश्वकर्मा, उपाध्यक्ष विनोद विश्वकर्मा,लगायत अनिल विश्वकर्मा, प्रेम नेपाली, दलित महिला सदस्य बेलकुमारी वि।क।, तेजमाया वि।क।, माया सुनार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले छुवाछुत तथा जात व्यवस्था देशकै प्रमुख समस्याको रुपमा रहेको, राज्यले कानुनको उचित कार्यान्वयन गर्न नसकेको, जातीय विभेदबाट दलित समुदाय अपमानित र पीडित बन्न बाध्य भएको, राज्यका हरेक निकायमा दलित समुदायको अत्यन्तै न्युन सहभागिता रहेको, जातीय विभेद र अपराधका घटनाहरु बढ्दै जाँदा राज्यको ध्यान नगएको, बेपत्ता भएका दिलीप वि।क। र अन्तरजातीय विवाहको कारण प्रभात बस्यालले न्याय पाउन नसकेको, अझै पनि जातीय विभेदका घटनाहरु झनझन बढ्दै गएको लगायतका विषयमा बोलेका थिए ।
त्यसैगरी वक्ताहरुले धर्म संस्कार र संस्कृतिमा भएका गलत प्रथाहरुको अन्त्य गर्नुपर्ने, दलित समुदायमाथि हुने विभेदको अन्त्य गर्न राज्यका निकायहरु गम्भीर बन्नुपर्ने, शिक्षा र चेतनामूलक कार्यक्रमहरु संचालन गर्नुपर्ने, सबैमा सम्मानजनक मानवीय व्यवहारको अभिवृद्धि गर्नुपर्ने, छुवाछुत तथा जातीय विभेद गर्नेलाई कडाभन्दा कडा कार्वाही गरिनुपर्ने, दलितहरु शिक्षित र संगठित बन्नुपर्ने लगायतका विषयमा जोड दिएका थिए ।
कार्यक्रममा प्लेकार्ड सहितको नारा जुलुस तथा बाजागाजा सहित र्याली बोहरागाउँदेखि सुरु भई पशुपति आधारभूत विद्यालय धाराखर्क पुगेको थियो । कार्यक्रममा दलित अधिकारकर्मी, बुद्धिजीवी, अगुवा दलित, जनप्रतिनिधि, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी उक्त कार्यक्रमको अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि र दलित आन्दोलनमा योगदान पुराउने दलित जनप्रतिनिधि तथा अगुवा दलितहरुलाई कदरपत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो ।
निसीखोला दलित संजाल वडा नं। ३ का अध्यक्ष गोविन्द सुनारको अध्यक्षता रहेको उक्त कार्यक्रममा संजालकी उपाध्यक्ष लक्ष्मी बोहराको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संंचालन दलित अधिकारकर्मी एवं शिक्षक नाकपाल सुनारले गर्नुभएको थियो ।