निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९्,८० मा आठ झोलुङ्गे पुल बन्दै छन् ।

अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए ।केन्द्र सरकारको ८७ र निसीखोला गाउँपालिकाको १३ प्रतिशत लगानीमा आठ वटा पुल बन्न थालेको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पुल सर्वेक्षण गरेर काम सुरु भएको छ ।
इन्जिनियर शाही भन्नुहुन्छ, “आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुन्छन्, त्यहीअनुसार अहिले काम भइरहेको छ, बेस निर्माण गर्ने, काम भइरहेको छ भने, लठ्ठा ल्याउने प्रक्रिया सुरु भएको छ, पुल निर्माणको कामलाई तीव्र बनाउन हामीहरु लागि रहेका छौँ ।” शाहीको अनुसार वडा नम्बर १ को सेलाखेतघाट, आठबारेघाट, वडा नम्बर ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नम्बर ४ र ५ जोड्ने कारीखोला, वडा नम्बर ५ यारीखोला, वडा नम्बर ६ मगरघाटखोला, वडा नम्बर ३ को गतेरोघाट र वडा नम्बर २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण हुन लागेको छ ।

गाउँपालिकाको ठाउँ–ठाउँमा झोलुङ्गे पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गर्ने अभियानलाई तीव्र बनाएको शाहीको भनाइ छ । स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा यहाँका सयौँ स्थानीयले समस्या भोग्नुपरेको बताउनुभयो ।
पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा लिएको उहाँ बताउनुहुन्छ । कुँवरले भन्नुभयो, “अहिले खोला तरेर पारी जान डेढ दुई घण्टा लाग्छ, यहाँ पुल बन्यो भने पाँच मिनेट पनि लाग्दैन, बर्खामा खोला बढ्यो भने पारीको मान्छे पारी, वारीको मान्छे वारी भइन्छ, यहाँ पुल बनाउन थालेका छन्, अब सहज होला ।”

पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा समेत युवा जसोतसो खोला पार गरे पनि साना बालबालिका र बूढाबूढीलाई समस्या हुने गरेको छ । निसीखोला गाउँपालिका–६ का नरबहादुर विकले यहाँको खोलाले एक÷दुई जना स्थानीयलाई बगाएको बताउनुहुन्छ ।
“स्कूल पारी छ, खोला नतरेसम्म त्यहाँ पुग्न सकिन्न, केटाकेटीला स्कूल पठाउनै डर छ, कतै खोलामा परिहाल्छन् कि भन्ने हुन्छ, सधैँ पु¥याउन पनि सकिन्न”, विकले भन्नुभयो, “हट्टाकट्टा युवा हिउँदको समयमा पनि जसरी नि खोला तरि हाल्थे, साना–साना केटाकेटी र बूढापाकालाई निकै गाह्रो छ, पुल नहुँदा त कतिले अकालमै ज्यान गुमाए, कति त खोलाले बगाएर बेपत्ता भए ।”

अघिल्ला वर्षहरुमा निसीखोलाको–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नम्बर ७ को कुतखोलाघाट, वडा नम्बर ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नम्बर १ को माराघाट, वडा नम्बर २ धौलेघाटमा पुल बनेर सञ्चालनमा छन् । ती पुल रु दुई करोड पाँच लाख बढीमा निर्माण भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताउनुभयो । यस वर्ष रु तीन करोड ६४ लाख ३२ हजार सात सय ८५ को लागतमा आठ पुल बन्न थालेको गौतम बताउनुहुन्छ ।
“स्थानीयको आवश्यकता, समस्या र मागलाई मध्यनजर गरी पुल निर्माण गर्ने ठाउँ छनोट गरेका हौँ, सोहीअनुसार बजेट विनियोजन व्यवस्थापन गरेर पुल निर्माणलाई जोड दिएका छौँ, स्थानीय पनि निकै उत्साहित हुनु भएको छ, पुलले उहाँहरुको दैनिकीमा धेरै परिवर्तन ल्याउने छ भन्ने लागेको छ ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले अब कुनै पनि नागरिकले पुलका कारण खोलामा बगेर ज्यान गुमाउनु नपर्ने बताउनुभयो । यहाँ धेरै खोला हुँदा सबै ठाउँमा एकै पटक पुल निर्माण गर्न नसकेको भन्दै सबै खोलामा नागरिकलाई सहज हुने गरी बर्सेनि पुल निर्माणलाई जोड दिने बताउनुभयो ।

अध्यक्ष घर्तीमगरले भन्नुभयो, “पुल नागरिकलाई वारपार गर्नका लागि मात्रै प्रयोग हुने छैन, यसले उत्पादन र बजारलाई पनि जोड्ने छ, यहाँका कृषकले उत्पादन गरेका कृषिउपज वस्तुलाई बजारसम्म पु¥याउन र बजारबाट आवश्यक सामना गाउँ ल्याउन पनि पुलले ठूलो टेवा पु¥याउने छन् ।” रासस

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img