छविलाल पाण्डे
बुर्तिबाङ, बागलुङ। तिहार नजिकिएसँगै बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङमा झिनियाँ रोटीको व्यापार बढेको छ। बजारका पसलहरूमा सजिएका रङ्गीविरङ्गी झिनियाँ रोटीले उपभोक्ताको मन लोभ्याउन थालेका छन्।
रोटीका विभिन्न परिकारको महत्व रहने तिहारमा झिनियाँ रोटीको प्रयोग बढ्दै गएको छ। तिहारको परिकारलाई आकर्षक र शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेसँगै यसको माग र कारोबारमा वृद्धि भएको हो।
तिहारको आगमनसँगै बुर्तिबाङ, भिवाखोला, बोङ्गादोभान र शाना बजारमा झिनियाँ रोटीको कारोबार बढेको छ। बुर्तिबाङ बजारमा झिनियाँ रोटी खरिद गर्ने उपभोक्ताको भीडभाडसमेत बढ्न थालेको छ। तीजपछि झिनियाँ रोटीको मुख्य सिजन सुरु हुने व्यवसायीहरू बताउँछन्।

ढोरपाटन नगरपालिका–२ तारिखेत गाउँका ६ परिवारका लागि झिनियाँ रोटी उत्पादन आम्दानीको मुख्य स्रोत बनेको छ। दशैँ र तिहारमा झिनियाँ रोटीको खपत बढी हुने देखेपछि स्थानीय महिलाहरूले यसलाई व्यावसायिक रूपमा उत्पादन गर्न थालेका हुन्।
स्थानीय कुमसरी भण्डारीले विगत १२ वर्षदेखि झिनियाँ रोटी उत्पादनलाई मुख्य पेसाका रूपमा अपनाउँदै आउनुभएको छ। घरका बालबालिकासहित पाँच जनाले झिनियाँ रोटी बनाउने काम गर्दै आएको उहाँले बताउनुभयो। वार्षिक पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै आउनुभएकी भण्डारीले मागअनुसार झिनियाँ रोटी पुर्याउन नसकेको बताउनुभयो।
गाउँमा छ परिवारले झिनियाँ रोटी उत्पादन गर्दै आए पनि बजारको मागअनुसार आपूर्ति गर्न नसकिएको उहाँको भनाइ छ।
त्यस्तै, स्थानीय प्रेमकली घर्तीले यस वर्ष २ हजार ४ सय केजी चामलबाट तयार पारिएको झिनियाँ रोटी बिक्री गरेको बताउनुभयो। श्रीमान्, बालबालिका र बहिनीसहित परिवारका सदस्यहरू दैनिक झिनियाँ रोटी उत्पादनमा व्यस्त रहने उहाँले बताउनुभयो।
तारिखेत गाउँबाटै झिनियाँ रोटी प्रतिदर्जन एक सय रुपैयाँमा बिक्री हुने गरेको छ। गाउँका महिलाहरूले घरमै झिनियाँ रोटी बनाउने मेसिन राखेर उत्पादन गर्दै आएका छन्। झिनियाँ रोटी उत्पादन महिलाहरूका लागि आयआर्जनको राम्रो माध्यम बन्दै गएको छ।
स्थानीय स्तरमै उत्पादन हुने झिनियाँ रोटीले तिहारको बजारमा व्यापारिक गतिविधि बढाउनुका साथै ग्रामीण महिलाहरूलाई स्वरोजगार र आर्थिक आत्मनिर्भरताको अवसरसमेत प्रदान गरेको छ।

















