बागलुङको निसीखोला गाउँपालिका–१ स्थित सामुदायिक वनबाट सात थान अवैध भरुवा बन्दुक बरामद भएको छ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले असोज २१ गते बिहान करिब ९ बजे गस्ती गर्ने क्रममा सल्लेरी सामुदायिक वनको वनमाराको झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा सात थान एकनाले भरुवा बन्दुक फेला पारेको हो।
बेवारिसे अवस्थामा फेला परेका बन्दुकहरू प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
बन्दुक कसले र के प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक यामनारायण अर्यालले जानकारी दिनुभयो।

















