बुर्तिबाङ बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–४ मा रहेको रिखुवा महखोला झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। प्रचार–प्रसारको अभावमा लामो समयदेखि ओझेलमा परेको झरनाको प्रवद्र्धन तथा आवश्यक पूर्वाधार निर्माणका लागि ढोरपाटन नगरपालिकाले समेत चासो देखाएको छ।
स्थानीयले रिखुवा महखोला झरनालाई बागलुङ जिल्लाकै अग्लो झरनाको रूपमा दाबी गर्दै आएका छन्। पर्यटन प्रवद्र्धनका दृष्टिले झरना निकै आकर्षक गन्तव्य बन्न सक्ने ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य तथा स्थानीय कुलबहादुर छन्त्यालले बताउनुभयो।
करिब पाँच किलोमिटर माथिको डाँडाबाट बग्दै आउने पानी झरनाको रूपमा खस्ने गर्दछ। वर्षायाममा पानीको बहाव बढ्दा झरना अझ ठूलो र आकर्षक देखिन्छ भने हिउँदमा समेत यसको सौन्दर्य उत्तिकै मनमोहक हुने स्थानीयको भनाइ छ। यही कारण पछिल्लो समय झरना अवलोकन गर्न आन्तरिक पर्यटक आउन थालेका स्थानीय रामबहादुर अर्गेजाले बताउनुभयो।
बुर्तिबाङ बजारदेखि करिब नौ किलोमिटरको दूरीमा रहेको झरनासम्म सडकमार्फत करिब २० मिनेटमा पुग्न सकिन्छ। सडकबाट भने करिब १० मिनेट पैदल यात्रा गरेपछि झरनास्थलमा पुग्न सकिन्छ।


झरनाको प्रचार–प्रसार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ढोरपाटन नगरपालिकाले यस वर्ष विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मार्फत कार्यक्रम अघि बढाएको जनाएको छ।
पर्यटकीय सम्भावना हुँदाहुँदै पनि राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा झरना ओझेलमा परेको स्थानीय दुरप्रसाद श्रीपाले बताउनुभयो। झरनाको प्रचार–प्रसारसँगै सडक, पदमार्गलगायत आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

गुरजुरेको झेँडाबाट बगेर आउने पानी ठूलो मात्रामा संकलन भएपछि छहराको रूपमा करिब १०० मिटर उचाइबाट खस्ने गर्दछ। प्राकृतिक सौन्दर्य, सहज पहुँच र स्थानीयस्तरमा बढ्दै गएको पर्यटकको आकर्षणका कारण रिखुवा महखोला झरना ढोरपाटन क्षेत्रकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ।

















