ढोरपाटन, बागलुङ । ढोरपाटन नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका काम, उपलब्धि तथा चालु आर्थिक वर्षका लक्ष्य समेटिएको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी बढाउँदै आएको नगरपालिकाले स्वास्थ्य क्षेत्रमा क्रमिक सुधारका परिणाम देखिन थालेको जनाएको छ । नगरवासीलाई सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित प्रत्येक वडामा स्वास्थ्य सेवा विस्तार गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख भूमिश्वर शर्माले आर्थिक वर्ष २०८२/०८३ मा शाखामार्फत सञ्चालन गरिएका कार्यक्रम, प्राप्त उपलब्धि तथा देखिएका समस्याबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदनअनुसार ढोरपाटन नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेको छ भने घरमै हुने प्रसूति (होम डेलिभरी) को संख्या घट्दो क्रममा रहेको जनाइएको छ । बालमृत्यु तथा मातृमृत्यु दरमा समेत कमी आएको र स्वास्थ्य संस्थामा निःशुल्क औषधिको उपलब्धता पर्याप्त रहेको शाखाले जनाएको छ ।

त्यस्तै, सर्ने तथा नसर्ने रोगको परीक्षण, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, पोषणमैत्री कार्यक्रमलगायतलाई प्राथमिकताका साथ सञ्चालन गरिएको बताइएको छ । मातृ तथा नवजात शिशु कार्यक्रमअन्तर्गत प्रसूति प्रतीक्षाघर निर्माण, बहुक्षेत्रीय पोषण कार्यक्रमको सुधार तथा विस्तार र क्षयरोग रोकथामसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
स्वास्थ्य शाखाको प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित रूपमा गर्भ जाँच गराउने क्रम बढेको छ । स्वास्थ्य संस्थामा ८ पटकसम्म गर्भजाँच गराउने महिलाको संख्या वृद्धि भएको तथा विभिन्न खोप केन्द्रमार्फत नियमित खोप सेवा सञ्चालन भइरहेको जनाइएको छ ।
यद्यपि, नगरपालिकामा नसर्ने रोगका बिरामी बढ्दै जानु चुनौतीका रूपमा देखिएको छ । विशेषगरी वडा नम्बर ८ र ९ मा भौगोलिक कठिनाइका कारण होम डेलिभरीको समस्या अझै रहेको तथा नियमित गर्भजाँचका लागि स्वास्थ्य संस्थासम्म पुग्ने महिलाको संख्या अपेक्षाअनुसार हुन नसकेको शाखाले जनाएको छ ।
चालु आर्थिक वर्षमा गत वर्षका कार्यक्रमलाई थप सुधार गर्दै होम डेलिभरीलाई शून्यमा झार्ने, बाल स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउने, सर्ने तथा नसर्ने रोगको परीक्षण र सचेतना कार्यक्रम विस्तार गर्ने तथा पोषणमैत्री कार्यक्रमलाई थप व्यवस्थित गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रादेशिक जनस्वास्थ्य कार्यालय बागलुङका प्रशासक प्रविण शर्माले मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रममा अझै सुधारको आवश्यकता रहेको बताउनुभयो । राम्रो परिणाम हासिल गरेका स्थानीय तहबाट सिकाइ लिएर स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ढोरपाटन नगरपालिका वडा नम्बर १ का अध्यक्ष वानबहादुर छन्त्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा बुर्तिबाङ अस्पतालका प्रमुख डा. अविनाश पोखरेल, जनस्वास्थ्य निरीक्षक चुडामणि कँडेल, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिले आफ्नो संस्थाको वार्षिक समीक्षा तथा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत बेली भुजेलले गर्नुभएको थियो ।

















