बुर्तिबाङ, बागलुङ । भोटेकोसी बाढीबाट प्रभावित पीडितका लागि बागलुङको पश्चिम क्षेत्रमा अवस्थित पुरानो शैक्षिक संस्था जनता बोर्डिङ स्कुलले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा संस्थाको तर्फबाट उक्त रकम उपलब्ध गराएको विद्यालयका प्रिन्सिपल यूवराज महतले जानकारी दिनुभयो।
विद्यालयका शिक्षक, विद्यार्थी तथा विद्यालयको तर्फबाट राहत रकम संकलन गरी हस्तान्तरण गरिएको प्रिन्सिपल महतले बताउनुभयो। विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यालय परिवारले सामूहिक रूपमा राहत अभियान सञ्चालन गरेको उहाँको भनाइ छ।
यसैबीच, भोटेकोसी बाढीमा यस क्षेत्रबाट हराइरहेका परिवारका लागि छुट्टै राहत उपलब्ध गराउने तयारीसमेत भइरहेको प्रिन्सिपल महतले जानकारी दिनुभयो।

विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा सहयोग तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।

















