बुर्तिबाङ । भोटेकोसी बाढीबाट प्रभावित पीडित परिवारका लागि बागलुङको ढोरपाटन नगरपालिका–१, बुर्तिबाङस्थित न्यू मोर्डन एकेडेमी बोर्डिङ स्कुलले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका सञ्चालक समिति, शिक्षक तथा विद्यार्थीको सामूहिक पहलमा संकलन गरिएको उक्त रकम नेपाल बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत संकलन कोषमा जम्मा गरिएको विद्यालयका प्रिन्सिपल दीपक कुँवरले जानकारी दिनुभयो।
बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले विद्यालयले सञ्चालन गरेको अभियानमा विद्यार्थीहरूले समेत सक्रिय सहभागिता जनाएका थिए। विद्यालय परिवारले विपद्को समयमा पीडितलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको भन्दै अभियानमा हातेमालो गरेको जनाएको छ।
विद्यालयले विद्यार्थीमा सहयोगी भावना, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाको विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।

















