ढोरपाटन । ढोरपाटन नगरपालिका–१ भब्रेटामा रहेको भब्रेटा कालिका आमा समूहले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार रुपैयाँ सहयोग गरेको छ।
तीज पर्वको अवसरमा दर खाने कार्यक्रमका लागि संकलन गरिएको रकमलाई यस वर्षको विपद्मा परेका नागरिकको राहतका लागि सहयोग गर्ने निर्णय गर्दै कोषमा जम्मा गरिएको समूहकी अध्यक्ष मनकुमारी घर्तीले बताउनुभयो।
“दर खाने कार्यक्रमका लागि विभिन्न नाचगान तथा स्वयं संकलनमार्फत रकम जम्मा गरेका थियौँ। देशमा विपद् परेकाले यसपटक तीजको दर खाने कार्यक्रम स्थगित गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हौँ,” अध्यक्ष घर्तीले भन्नुभयो।
समूहले गाउँमा सामाजिक कार्यसँगै महिला एकता कायम गर्ने, समाजमा रहेका विकृति तथा विसंगति न्यूनीकरण गर्ने र स्थानीय कला तथा संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आएको सदस्य सीताकुमारी अर्याल कुँवरले बताउनुभयो।

विपद्को समयमा आफ्नो खुसीका लागि खर्च गर्ने रकम कटौती गरी पीडितको राहतका लागि सहयोग गरेको भन्दै समूहको यो कार्यलाई स्थानीयस्तरमा सकारात्मक सामाजिक उदाहरणका रूपमा हेरिएको छ।

















