जेठ २७ गते बुर्तिबाङ
शिशिर विश्वोकर्मा

बागलुङको बडिगाड गाउँपालिकामा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा महिला उद्यमशीलता विकास आत्मनिर्भर कार्यक्रम अन्तरगत मंगलबार बाख्रा उपहार तथा स्रोत वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बडिगाड गाउपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङको व्यवस्थापनमा कार्यक्रम गरिएको थियोे ।
स्थानीय उत्पादनलाई व्यवसायमूलक रुपमा अगाडि लैजाने र वास्तविक कृषकहरू जो दूरदराजमा राज्यको पहुँचमा पुग्न सक्नुभएको छैन उनीहरूलाई राज्यको पहुँचमा ल्याउन लागि पालिकाले विभिन्न कृषिमैत्री र प्रविधिमैत्री कार्यक्रमलाई प्राथमिकताका साथ अघि बदिरहेको र कृषकहरूमा निर्वाहमुखी मात्र भएका कारण यसलाई चिर्नका निम्ति व्यवसायमुखी ढङ्गबाट आफ्नो पारिवारिक जीवनलाई आर्थिक रुपमा रूपान्तरण गरि कृषकको जीवलाई गुणस्तरीय बनाउने र कृषिलाई अनन्तकाल सम्म टिकाइ राख्न र स –साना किसानहरूलाई परम्परागत कृषिमा क्रान्ति गरी व्यवसायीक रुपमा रूपान्तरण गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले बताउनुभयो ।
उनले कृषि आमा समूहहरूलाई आफ्नो व्यवसाय बढाउन आह्वान गर्दै कृषि र पशु क्षेत्रमा गाउँपालिकाले धेरै कार्यक्रम ल्याएर सघाउ पुर्याउने बताए ।

यस कार्यक्रम मार्फत आधुनिक गोठ, खोर बनाउन , सरसफाइ ,औषधी उपलब्ध र मल व्यवस्थापन गर्नका लागि पनि राम्रो सहयोग पुर्याएको बाख्रालाई औषधी दाना पानी खुवाउन , घाँस खुवाउनको लागि पनि राम्रो खालको तालिम दिएको हेफर प्रोजेक्ट नेपालका कर्मचारी मनिता पुनले बताउनुभयो ।
पालिका भित्रका सबै वडाका आमा समुहहरूलाई २५ पाठा , ३५ पाठी गरी जम्मा ६० वटा पाठापाठी लगायत अन्य सामाग्रीहरू हस्तान्तरण गरिएको हो ।
संस्थाले कृषकलाई प्राविधिक सहयोग गर्नुका साथै टनेल वितरण लगायत अन्य सामाग्रीहरू पनि सहयोग गर्दै जाने बताएको छ ।
उक्त कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी अधिकारी , उपाध्यक्ष भिमसेन वन , प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल , नेपाल गाजा डेभलपमेन्ट फाउन्डेशन बागलुङका कर्मचारी, पालिकाका विभिन्न शाखागत प्रमुख ,पालिकाका कर्मचारी, हेफर प्रोजेक्ट नेपालका कर्मचारी ,समाजसेवी ,वुद्धिजीवी, सुरक्षाकर्मी ,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।










