मध्यपहाडी राजमार्गको धुलोले स्थानीयलाई सास्ती

मध्य पहाडी राजमार्ग अन्तर्गत बागलुङ खण्डमा धुलोको कारण स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । बिहँदेखि घोडाबाँधे सम्म पहिलो खण्डको तीन किमी र दोस्रो खण्डको १२ किमी सडकमा धुलोको कारण स्थानीय प्रत्यक्ष मारमा परेका छन् ।

अहिले स्थानीयवासी र यात्रु धुलोको कारण समस्यामा परेका छन् । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पुष्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गत बागलुङ खण्ड ट्र्याक खोलेको झन्डै २५ वर्षसम्म कालोपत्रे हुन सकेको छैन ।

वषौंदेखि धुलोको कारण विभिन्न समस्या झेल्नुपरेको स्थानीय टिकाराम कँडेलले बताउनुभयो । पानी छर्केर धुलोको समाधान गर्नु पर्ने भए पनि ठेकेदारले कुनै चासो देखाएको छैन भने नियमनकारी निकाय समेत ठेकेदारकै पक्षमा बोल्ने गरेको उहाँ बताउनुहुन्छ ।

जनताको स्वास्थ्यमा प्रत्यक्ष रूपमै खेलबाड गर्ने यी ठेकेदार र सडक कार्यालयका कर्मचारीलाई कारबाही गर्न समेत स्थानीयले माग गरेका छन् ।

“धुलोको कारण घरमा बस्नै नसक्ने हुन्छ, कँडेलले भन्नुभयो, पकाएको खानामा समेत धुलो भरिएर कहिलेकाहि त फाल्नुपर्ने अवस्था आउँछ ।” धुलोको कारण विभिन्न प्रकारका रोग समेत देखा पर्न थालेको कँडेलले बताउनुभयो ।

सडकको खराब अवस्था र लगातारको धुलोका कारण आसपासका मानिसमा श्वासप्रश्वास तथा फोक्सो सम्बन्धी रोग देखा पर्न थालेको स्थानीयको भनाई छ । धुलोले आँखा, छालामा एलर्जी, फोक्सोमा समस्या र मुटुलाई असर गरी क्यान्सर सम्मको खतरा हुन सक्ने चिकित्सकहरूको भनाई छ ।

धुलोको कारण मानवका साथै पशु चौपाया खेतबारीमा लगाएका तरकारी, खाद्य बाली र घाँस समेत सेताम्मे हुने गरेको स्थानीय कृष्णप्रसाद कँडेलले बताउनुभयो । “खेतबारी नै सेताम्मे हुने गरेको छ, कँडेलले भन्नुभयो,धुलोको कारण बसाइँ सराई नै गर्नुपर्ने अवस्था आएको छ ।”

यस खण्डमा कालोपत्रे नहुँदा बर्खामा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेको सवारी चालक खिमबहादुर विकले बताउनुभयो । हिउँदको समयमा सधैँ धुलोमा सवारी साधन चलाउनु पर्ने बाध्यता रहेको विकले बताउनुभयो ।

बिहुँका नागरिकहरूले सडक कालोपत्रे गर्न चरणबद्ध रूपमा निर्माण व्यवसायीका विरुद्धमा दबाब दिए पनि निमार्ण कार्यले गति लिन सकेको छैन ।

निमार्ण कार्य अबको केही वर्ष भित्र सम्पन्न गर्ने गरी निमार्ण व्यवसायीलाई ताकेता गरिएको पुष्पलाल मध्यहाडी राजमार्ग पर्वतका योजना प्रमुख शम्भुप्रसाद आचार्यले बताउनुभयो ।

बागलुङको पहिलो खण्डको लागि ४३ करोड ६५ लाख रुपैयाँमा भारत-सिद्धिलाई जेभीसंग सम्झौता गरी पाचौ पटक सम्म म्याद थप गर्दा सम्म अहिलेसम्म १० किमी सडक मात्रै कालोपत्रे भएको छ भने अझै ३ किमी सडकको काम बाँकी छ ।

दोस्रो खण्डको लागि ४० करोड ५० लाख रुपैयाँमा सूर्य कन्स्ट्रक्सनसँग सम्झौता गरी म्याद थप भएको पाचौ पटक सम्म कालोपत्रे नभएपछि ठेक्का सम्झौता रद्द गरी पुन दोस्रो पटक टेन्डर गरी काम अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img