गत पौष १२ गते विधिवत रुपमा उद्घाटन भएको बुर्तिबाङ अस्पतालमा समयमै प्रदेश सरकारले कर्मचारी व्यवस्थापन र औषधिको प्रबन्ध गर्न नसक्दा ढोरपाटन नगरपालिकालाई आर्थिक भार पर्दे आएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।
शुक्रबार सर्वदलीय सर्वपक्षीय बैठकको आव्हान गर्दे कायतले पौष मसान्तदेखि कर्मचारी तलब निकासा गर्न र औषधि खरिद प्रकृयामा निकै समस्या सृजना भएको बताउनु भयो । बागलुङको पश्चिम क्षेत्रका ४ पालिका सहित छिमेकी जिल्ला नागरिकलाई लक्षित गर्दे बढो सङ्घर्षका साथ स्थापना गरिएको अस्पतालमा प्रदेश सरकारले समयमै कर्मचारी र औषधिको व्यवस्थापन गर्न नसकेको यहाँ स्थित क्रियाशील राजनैतिक दलका प्रतिनिधिको भनाई थियो ।

गण्डकी प्रदेश सरकारले अस्पताल स्थापना गरेसँगै क्रमश स्वास्थ्यकर्मी , कर्मचारी र आवश्यक मेसिनरी सामाग्री पठाउन सुरु गरेको छ । तर यहाँ जनअपेक्षा बमोजिम तत्काल कर्मचारी व्यवस्थापन र औषधि व्यवस्था नहुँदा समस्या भएको बुर्तिबाङ अस्पतालका मेसु डा. नविन्द्र ढकालको भनाई छ । स्वास्थ्य बीमा वापत एक करोड बढि रकम सरकारबाट प्राप्त गर्न बाँकी रहेका कारण औषधि व्यवस्थापनमा समस्या सृजना भएको छ ।
गण्डकी प्रदेश सरकारबाट समयमै स्वास्थ्य कर्मी, र औषधि व्यवस्थापन भएमा यहाँको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र गुल्मी, रुकुम सहितक करिब १ लाख बढि नागरिकले प्रत्यक्ष सेवा प्राप्त गर्न सक्ने छन । त्यस्तै अस्पतालमा बार्षिक ३० हजार बढि नागरिकले सेवा लिने गरेका हुन ।


छिमेकी पालिकाको सहयोग नहुनु, डाक्टरलाई इन्सेन्टिभ लगाएत आवश्यक व्यवस्थापन गर्न सक्ने क्षमता नहुँदा यहाँ आवद्ध रहेको सबै डाक्टर सरुवा भइरहेको ढकालको भनाई छ । कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिम बहादुर कार्कीले बोल्दै राजनैतिक संयन्त्रको खिचातानी र उचित व्यवस्थापन नहुनुनै अहिलेको समस्या रहेको बताउँदै चालु आर्थिक बर्षमा केही चुनौती भएपनि आगामी आर्थिक बर्षको सुरुवात देखिनै उचित व्यवस्थापन सहित अस्पताल व्यवस्थापन कार्य अगाडी बढ्ने बताउनु भयो ।
हाल ढोरपाटन नगरपालिकाकाले मासिक ४ लाख ५० हजार खर्च गर्ने गरी २२ जना कर्मचारी व्यवस्थापन गरेको हो । पौष मशान्त देखि असार मसान्त सम्मको २७ लाख रुपैयाँ तलव भुक्तानी गर्न बाँकी रहेका कारण आफुहरु लाई ठेग्नै सकस भएको कार्यवाहक मेयर कायत ले बताउनु भयो । कार्यक्रममा वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बोल्दै बुर्तिबाङ अस्पतालमा हुने इमर्जेन्सी समस्यामा आफूहरूले समेत साथ दिने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा वडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन, नेपाली कांग्रेसका भूमिराज महत, नेकपा ए मालेका टंक पौडेल, नेकपा माओबादीका चन्द्र अर्याल, राजमोबाट गौरीश्वर पाण्डे,। नेकपाबाट हरि बहादुर कुवँर, स्थानीय नर बहादुर गुरुङ, माया पाण्डे लगाएतले यहाँको समस्या समयमै हल गर्नका निम्ती सबैले पहल गर्नुपर्ने बताएका हुन ।










