पौष २६, बुर्तिबाङ ।
ढोरपाटन नगरपालिकाको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट ढोरपाटन नगरपालिकाको उत्तर गंगा नमुना माध्यमिक विद्यालयमा सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ अन्तर विद्यालय स्थानीय तह स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायत कल्याणले दिप प्रज्जवलन गरी उद्घाटन गर्नुभएको हो ।
उद्घाटन सत्रमा बोल्दै कायतले खेलकुद क्षेत्रसँगै शिक्षालाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिनुभएको थियो । शिक्षा भनेको ज्ञानको ज्योति हो भन्दै शिक्षा क्षेत्रलाई आमूल परिवर्तन गर्नका लागि ढोरपाटन नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेको पनि बताउनुभएको थियो । यहाँबाट विजेता भएर जिल्ला तथा प्रदेश स्तरमा गएर विजेता भई आएमा नरपालिकाको तर्फबाट विशेष सम्मान गर्ने घोषणा गर्नु भएको हो । भलिबल खेल राष्ट्रिय खेल भएको र यसमा विभिन्न स्थानमा पुगेर नाम राख्न सफल यस क्षेत्रका खेलाडीलाई पनि नगरपालिकाको तर्फबाट अबका दिनमा सम्मान गर्ने उद्घोष गर्नुभएको थियो । यस प्रतियोगितामा सहभागि सम्पूर्ण विद्यालयका खेलाडी विद्यार्थी, शिक्षक लगायतलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
त्यस्तै नगरपालिकाका शिक्षा शाखाका प्रमुख गणेश रावलले बोल्दै विद्यालयको शिक्षा प्रणालीलाई सुधार गर्नका लागि राष्ट्रपति रनिङ शिल्डले पनि महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । शिक्षा क्षेत्रलाई सुधार गर्नका लागि शिक्षकले चक डस्टर बोकेर मात्र नभई खेलकुदका माध्यमबाट विद्यार्थीको प्रतिभा प्रस्फुटनमा पनि जोड दिन सक्नुपर्ने बताउनुभएको थियो । आयोजित कार्यक्रमको अवसरमा वडा नं. ३ का वडा अध्यक्ष खिम सुनार, वडा नं. २ का अध्यक्ष दुर्गा खत्री , बुर्तिबाङ इलाका प्रहरी कार्यालयका प्रमुख आनन्द बस्नेत, सम्पूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, अभिभावक, शिक्षा प्रेमी, प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका अवरसमा विभिन्न ¥यालि सहित बजार परिक्रमा गरिएको थियो । आज सञ्चालन भएको खेलकुद अन्तर्गत छात्र भलिबल तर्फ शिवालय मावि र ज्ञानोदय माविबिचको खेलमा शिवालय माविले जित हासिल गरी अघिल्लो चरणमा प्रवेश गरेको छ भने छात्रा भलिबल तर्फ जनता इङलिस बोर्डिङ स्कुल र शिवालय माविबिच भएको खेलमा जनता बोर्डिङ स्कलले जित आत पार्दै अघिल्लो चरणमा प्रवेश गरेको खेल संयोजक चित्र बहादुर पुनले जानकारी दिनुभयो । बाँकी खेल भोलि बिहान देखि सञ्चालन गरिने रेफ्रि संयोजक दिपेन्द्र छन्त्यालले बताउनुभयो ।

आयोजित कार्यक्रमका अवसरमा विभिन्न खेलकुदमा १४ विद्यालयको सहभागिता रहेको छ । कार्यक्रममा ढोरपाटन नगरपालिकाको आयोजना उत्तरगंगा माध्यमिक विद्यालयको व्यवस्थापनमा हुने प्रतियोगितामा छात्र, छात्रा भलिबल, छात्रा छात्र दुबै तर्फको एकसय, दुई सय, चार सय, आठ सय, पन्ध्र सय र तीन हजार मिटरको दौड प्रतियोगिता, रिले दौड प्रतियोगिता आयोजना गरिएको छ । त्यस्तै फिल्ड तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।
समउद्घाटन सत्रको कार्यक्रम वडा नं. १ का अध्यक्ष एवम् उत्तर गंगा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वान बहादुर छन्त्यालको अध्यक्षता तथा उत्तर गंगा नमुना माध्यकि विद्यालयका शिक्षा हिरा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।











