बुर्तिबाङ, असोज २४।
लायन्स क्लब अफ ढोरपाटनको आयोजनामा शनिबारदेखि बागलुङको बुर्तिबाङमा निःशुल्क आँखा जाँच, उपचार तथा मोतिबिन्दुको शल्यक्रिया शिविर सुरु भएको छ। बुर्तिबाङ अस्पतालमा सञ्चालन भइरहेको शिविर पश्चिम बागलुङका नागरिकलाई लक्षित गरी आयोजना गरिएको हो।
शिविर सञ्चालनका लागि हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पताल बागलुङ र बुर्तिबाङ अस्पतालले प्राविधिक सहयोग गरेका छन्। शिविरमा सयौँ बिरामीले आँखाको जाँच तथा उपचार सेवा लिइरहेका छन्।
शिविरको शनिबार गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रमुख अतिथिका रूपमा उद्घाटन गर्नुभएको हो।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शेरचनले लायन्स क्लबले आफ्नो सिद्धान्तअनुसार विभिन्न सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। लायन्स क्लब अफ ढोरपाटनले सञ्चालन गर्दै आएका सामाजिक कार्यबाट अन्य क्लब तथा संघसंस्थाले समेत पाठ सिक्नुपर्ने उहाँको भनाइ थियो।
मन्त्री शेरचनले बुर्तिबाङ अस्पतालको स्तरोन्नति भए पनि अझै थुप्रै समस्या समाधान गर्न बाँकी रहेको उल्लेख गर्दै आर्थिक अभावका कारण अपेक्षाकृत विकास हुन नसकेको बताउनुभयो। उहाँले अस्पतालको आवश्यकता पहिचान गरी सुधारका कामलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले लायन्स क्लब अफ ढोरपाटनले विभिन्न सामाजिक क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएको बताउनुभयो। उहाँले सामाजिक सेवामा क्रियाशील क्लबलाई नगरपालिकाले समेत सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।
त्यसैगरी, बुर्तिबाङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल भुसालले अस्पतालले भोग्नुपरेका समस्या तथा चुनौतीका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो।
स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन तथा भोकमरीलगायतका क्षेत्रमा सामाजिक सेवा प्रदान गर्दै आएको लायन्स क्लब अफ ढोरपाटनले विगत सात वर्षदेखि निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ।
क्लबका अध्यक्ष हेमेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत लायन राम आचार्यले गर्नुभएको थियो भने सञ्चालन छविलाल पाण्डेले गर्नुभएको थियो।
शिविरबाट पश्चिम बागलुङका नागरिकले निःशुल्क आँखा जाँच, उपचार तथा आवश्यकताअनुसार मोतिबिन्दुको शल्यक्रिया सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

















